पार्टीको नीति र नेतृत्वप्रति इमानदार बन्न नयाँ केन्द्रीय सदस्यहरुलाई ओलीको निर्देशन

पार्टीको नीति र नेतृत्वप्रति इमानदार बन्न नयाँ केन्द्रीय सदस्यहरुलाई ओलीको निर्देशन


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई सक्रियता, कार्यक्षमता र योजनाबद्ध कार्यशैलीमार्फत जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा मनोनीत केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउँदै अध्यक्ष ओलीले जिम्मेवारी प्राप्त गर्नु र त्यसलाई सफलतापूर्वक पूरा गर्नु फरक विषय भएको बताए । पार्टीमा लामो समय योगदान गरेको र नेतृत्वको विश्वास जितेको आधारमा जिम्मेवारी प्राप्त भए पनि अब कामको नतिजाबाट आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘जिम्मेवारी प्राप्त गर्नुभन्दा त्यसलाई कुशलतापूर्वक पूरा गर्नु धेरै कठिन काम हो । जिम्मेवारी यत्तिकै प्राप्त हुँदैन, यसका पछाडि लामो इतिहास, योगदान, मेहेनत र पसिना जोडिएको हुन्छ । त्यसकै प्रतिफलस्वरूप जिम्मेवारी पाइने हो । तपाईंहरूले पनि पार्टीमा लामो समय योगदान पुर्याएर, पसिना बगाएर र विश्वास जितेर यो जिम्मेवारी प्राप्त गर्नुभएको छ । तर अब यस जिम्मेवारीलाई कसरी वहन गरिन्छ, कसरी कार्यान्वयन गरिन्छ र कसरी सफल बनाइन्छ भन्ने कुराको परीक्षा शुरु भएको छ । अब केन्द्रीय सदस्यको हैसियतले तपाईंहरूको वास्तविक काम र त्यसको नतिजा देखिनुपर्दछ ।’

ओलीले पार्टीका नीति, सिद्धान्त र निर्णयलाई कार्यकर्तामाझ प्रभावकारी रूपमा पुर्याउने क्षमता, सक्रियता, अनुशासन तथा नेतृत्वप्रतिको इमानदारीलाई जिम्मेवारी मूल्यांकनका आधारका रूपमा व्याख्या गरे । विगतको योगदानका आधारमा मात्रै मूल्यांकन नहुने भन्दै उनले नयाँ जिम्मेवारीअनुसार काम गर्न सक्ने क्षमता पनि देखाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले सक्रियता मात्रै पर्याप्त नहुने उल्लेख गर्दै कार्यक्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए । क्षमतावान् व्यक्तिले कम समयमा धेरै काम गर्न सक्ने उदाहरण दिँदै उनले श्रमको परिणाम प्रभावकारी बनाउन दक्षता र कार्ययोजना आवश्यक रहेको बताए ।

काम गर्दा स्पष्ट योजना बनाएर प्राथमिकताका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ थियो । एकैपटक धेरै काममा हात हाल्ने तर कुनै पनि काम पूरा नगर्ने प्रवृत्तिले अपेक्षित परिणाम दिन नसक्ने उल्लेख गर्दै उनले व्यवस्थित र योजनाबद्ध ढङ्गले काम गर्न नवनियुक्त सदस्यहरूलाई निर्देशन दिए ।

उनले भने, ‘ योजनाबद्ध ढङ्गले एकतर्फबाट व्यवस्थित भएर लागिपर्ने हो भने पहाड नै खनेर पनि हटाउन सकिन्छ । तर यताउति छरिएर बिना योजना काम गर्दा सानो काम पनि सम्पन्न हुन सक्दैन । सबै काम एकैपटक गर्छु भनेर हात हाल्दा कुनै पनि काम पूरा हुँदैन । त्यसैले कताबाट शुरु गर्ने, कति समयमा सम्पन्न गर्ने भन्ने स्पष्ट योजना बनाएर व्यवस्थित रूपमा अघि बढ्नुपर्छ ।’

नीति निर्माण, निर्णय र योजना बनाउँदा गलत बाटो रोज्न नहुने बताउँदै ओलीले समस्या उत्पन्न भए त्यसलाई थप जटिल बनाउनुको सट्टा समाधानतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘हामीले सही बाटो रोज्नुपर्छ । उल्टो बाटो हिँडियो भने जति अगाडि बढ्यो, त्यति नै घाटा हुन्छ । त्यसैले नीति निर्माण र निर्णय प्रक्रियामा कहिल्यै गल्ती गर्नुहुँदैन । समस्याहरू आउन सक्छन्, तर समाधान नहुने कुनै समस्या हुँदैन । हाम्रो ध्यान समस्या बल्झाउनतिर होइन, समाधान खोज्नतिर केन्द्रित हुनुपर्छ ।’

अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक परिस्थिति जटिल रहेको उल्लेख गर्दै एमालेविरुद्ध घेराबन्दी जारी रहेको दाबी गरे ।

उनले भने, ‘ अहिलेको परिस्थिति केही जटिल छ । हामीले राजनीतिक रूपमा विभिन्न धक्काहरू व्यहोरेका छौँ । यस्तो बेला उपदेश दिनेहरू धेरै भेटिन्छन् तर साथ र सहयोग गर्नेहरू कमै हुन्छन् । तर हामी आडम्बरमा होइन, यथार्थमा बाँच्नुपर्छ ।’