पूर्वाधारमा बेनीकाे प्रगति : जेठभित्रै ८२ प्रतिशत याेजना सम्पन्न

पूर्वाधारमा बेनीकाे प्रगति : जेठभित्रै ८२ प्रतिशत याेजना सम्पन्न


म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा ८२ प्रतिशत योजना निर्माण सकेको छ ।

चालु आव २०७९/०८० मा बजेट विनियोजन भएका ३४२ मध्ये जेठ मसान्तसम्म २८३ योजना निर्माण सकिएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले ३३० योजना उपभोक्ता समिति र १२ ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिए ।

‘भौतिक पूर्वाधारका ५९ वटा योजना सम्पन्न हुने क्रममा छन्’, उनले भने, ‘सबैभन्दा बढी भौतिक पूर्वाधारका योजनामा विनियोजन भएकोमध्ये ६३ दशमलव ४२ प्रतिशत खर्च भएको छ ।’

भौतिक पूर्वाधारतर्फ १७ करोड ६९ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएकामा ११ करोड २१ लाख ७९ हजार रुपैयाँ खर्च भएको छ ।

सडक, भवन, खानेपानी, सिँचाइ, पदमार्ग, नाली निर्माणसम्बन्धी योजना धेरै छन् । नगर गौरवका आयोजनाको रूपमा रहेको प्रशासकीय भवनको तला थप, बेनीको मिनी रंगशाला, बेनी–ज्यामरुककोट, सिंगा–तातोपानी तल्लो बजारमा कालोपत्र, बेनी–पात्लेखेत सडक र खबरा खानेपानी आयोजना निर्माण सकिएको छ ।

पात्लेखेत–काछलुङ खानेपानी आयोजनको ८५ प्रतिशत, गाजने–नयाँगाउँ–ढोलथान खानेपानी आयोजनाको ७५, अर्थुंगे–पुलाचौर–भुतपानी सडकको ८०, सिंगा कोल्ड स्टोरको २५, दूधेखोला–हल्लेगौडा–भकिम्ली सडकको ७० र महारानीथान–छाप–डाडाखेत–ठुलोखोला सडक आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा विनियोजन भएको कुल ७९ करोड १८ लाख १३ हजार रुपैयाँ बजेटमध्ये ६८ दशमलव ९७ प्रतिशत खर्च भएको छ । विकास आयोजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकको २९ करोड ३७ लाख ३८ हजार रुपैयाँमध्ये १९ करोड ४७ लाख ३३ हजार रुपैयाँ अथवा ६१ दशमलव ७८ प्रतिशत खर्च भएको छ ।

चालु आवमा ४ करोड २३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाले ११ महिनामा ४ करोड २६ लाख ७२ हजार रुपैयाँ १४० रुपैयाँ संकलन गरेको छ ।

चालु आवको ११ महिनाका अवधिमा ३५१ जना बसाइँसराइ गरी गएका छन् भने २१५ जना नगरभित्र बसाइँ सरेर आएका छन् ।

नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका २३ उजुरीमध्ये १९ को फछ्र्योट र ३ वटालाई सम्बन्धित निकायमा सिफारिस गरिएको छ । एउटा सुनुवाइको प्रक्रियामा छ ।