‘नौबिसे ट्रयाम्प जिपलाइन’मा पर्यटकको आकर्षण

‘नौबिसे ट्रयाम्प जिपलाइन’मा पर्यटकको आकर्षण


धादिङ ।

काठमाडौँबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अग्र्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले यसको मनोरञ्जन लिइसकेका छन् ।

एक हजार दुई सय मिटर लामो सो जिपलाइन पछिल्लो समयमा नेपालमा सञ्चालनमा आएको सम्भवतः सबैभन्दा भिरालो (स्टेपेष्ट) जिपलाइन हो भने नेपालको दोस्रो लामो जिपलाइन हो । धादिङको नौबिसेबाट दामन जाने सडकमा पर्ने यो रिसोर्ट र जिपलाइनको विसं २०७९ वैशाख ७ गते बागमती प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले शुभारम्भ गरेका थिए।

हाल पृथ्वी राजमार्गअन्तर्गत थानकोट सुरुङमार्गको निर्माणका कारण हुने जाम र सडकको खाल्डाखुल्डी तथा आर्थिक मन्दीका कारण रिसोर्ट र जिपलाइनमा अपेक्षित ग्राहक आउन नसकेको यसका सञ्चालक बताउँछन् । रिसोर्टमा हाल नौवटा कोठा रहेकामा यसलाई विस्तार गर्ने र स्मिमिङ पुलसमेत निर्माण गर्ने योजना रहेको छ ।

छोटो समयमा सबैभन्दा आकर्षक मानिने यस साहसिक पर्यटन उत्पादनले आन्तरिक पर्यटकलाई आकर्षित गराउँदै आएको छ । प्रतिव्यक्ति रु तीन हजार पाँच सय शुल्क राखिएको यो जिपलाइनले २५ प्रतिशत छुटसहित विभिन्न प्याकेज दिँदै आएको छ ।