भरतपुर महानगरले थाल्यो पुङ्गी खोलाको संरक्षण

भरतपुर महानगरले थाल्यो पुङ्गी खोलाको संरक्षण


चितवन ।

भरतपुर महानगरपालिका हुँदै बग्ने पुङ्गीखोला संरक्षणका लागि महानगरपालिकाले काम सुरु गरेको छ । वडा नं ११, २, ३ र ४ हुँदै बग्ने सो खोला संरक्षणका लागि महानगरपालिको पुङ्गीखोला सिमाङ्कन तथा संरक्षण समिति बनाएर काम सुरु गरेको हो ।

विसं २०२१ को नापी सर्वेभन्दा पहिलादेखि रहेको सो खोला अतिक्रमणमा परेसँगै महानगरले संरक्षणका लागि काम सुरु गरेको हो । भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष अध्यक्ष विकास थापाको संयोजकत्वमा समिति गठन गरेर कामलाई अघि बढाइएको हो ।

समितिका सदस्य सचिव विकास देवकोटाका अनुसार पुङ्गीखोला संरक्षणका लागि अहिले सिमाङ्कनको काम सुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ र ४ मा सिमाङ्कनको काम सम्पन्न भई सकेको छ ।

अहिले वडा नम्बर २ को सिमाङ्कनको काम सुरु गरिएको उहाँले जानकारी दिए । उनले भने, “दुई खोलाको सिमानाभित्र वडामा २० भौतिक संरचना बनेको पाइएको छ ।” सिमाङ्कनका क्रममा कतिपय स्थानमा नक्शामासमेत नभेटिएको उनले जानकारी दिए ।

समितिका संयोजक वडाध्यक्ष थापाले सिमाङ्कनको काम सकिएपछि गुरुयोजना अनुसार काम अघि बढाइने छ । भरतपुर महानगरपालिकाले दुई वर्षअघि तयार पारेको गुरुयोजना अनुसार काम सुरु गरिएको हो । नक्शाङ्कनको काम सकिएसँगै गुरुयोजनालाई परिमार्जन गरी कामलाई अघि बढाइने उनले बताए ।

भरतपुर महानगरपालिका–११ गणेशधामबाट सुरु हुने सो खोला ७ किलोमिटर तल भरतपुर महानगरपालिका वडा नं ४ रामघाटमा नारायणी नदीमा गएर मिसिएको छ । खोलाको रेखाङ्कनको काम असार महिनाभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको महानगरपालिकाले जनाएको छ । गुरुयोजना अनुसार महानगरले पुङ्गी खोलालाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना रहेको छ ।

तीन स्थानमा पार्क निर्माण, खोला किनारमा हरियाली, पैदल मार्ग, साइकल मार्ग लगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना तयार गरिएको थापाले बताए। हाल अतिक्रमणमा परेको खोला कतै साँधुरो र नालीको रुपमा प्रयोग हुँदै आएको देखिन्छ । खोलालाई पहिलेको जस्तै स्वच्छ राख्नका लागि खोलामा मिसाइएका ढलको व्यवस्थापनसमेत गुरुयोजनामा राखिएको छ ।

भौतिक संरचना हटाइ यसलाई पुरानै अवस्थामा फर्काउने गरी काम गर्न लागिएको वडाध्यक्ष थापाले बताए । उनले भने, “प्रमुख बजार क्षेत्र हुँदै बग्ने यो खोलाको अतिक्रमण हटाएर सुन्दर रुप दिन्छौंँ ।” कानुनसम्मत काम अघि बढाइएको भन्दै उनले अतिक्रमित संरचना हटाउन समय दिने जानकारी दिए । उनले थपे,“समयमा संरचना नहटाए हामी आफैले हटाउँछौँ ।”