विपदबाट हुने क्षति न्यूनीकरण गर्न सडक नाटक

विपदबाट हुने क्षति न्यूनीकरण गर्न सडक नाटक


बाँके ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बाँकेमा ‘कचहरी’ सुरू गरिएको छ । राप्ती सोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक नाटक ‘कचहरी’मार्फत सचेतना जगाइएको समाज सेवा नेपाल संस्थाले जनाएको छ ।

कारितास नेपाल र सिआरएस नेपालसँगको सहकार्यमा समाज सेवा नेपालले राप्तीसोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा कचहरी नाटक प्रदर्शन गरेको संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए । उनका अनुसार राप्तीसोनारी गाउँपालिकाका–१ देखि पाँचसम्मका १५ स्थान र डुडुवा गाउँपालिकाका तीन वटा वडाका नौ स्थानमा सडक नाटक प्रदर्शन गरिएको हो ।

“विपद्सम्बन्धी सचेतना जगाउने अभियानअन्तर्गत कचहरी प्रदर्शन गरेका हौँ”, थापाले भने, “कचहरी नाटक सर्वसाधारले चासोका साथ हेर्ने गर्नुभएको छ ।” समाजसेवा संस्थाले बाँकेमा विभिन्न सामाजिक विषयवस्तुमा काम गर्दै आएको छ ।

कचहरी नाटकमार्फत कलाकारले स्थानीयले बुझ्ने गरी बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक जानकारी प्रस्तुत गरेको डुडुवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष झङ्कबहादुर थापाले बताए । नाटकमार्फत प्रस्तुत गरिएका जानकारी निकै प्रभावकारी देखिएका उनको भनाइ थियो ।

वडाध्यक्ष तापाले वर्षायामको सुरुआतको चरणमा गरिएको यो नाटकबाट सर्वसाधारणलाई विपद् व्यवस्थापनमा सतर्कता अपनाउन सहयोग पुगेको उल्लेख गरे । उन का अनुसार वर्षायाममा बाँकेको राप्ती सोनारी र डुडुवा गाउँपालिकामा बाढी, डुबान, सर्पदंश, वन्यजन्तुको आक्रमणलगायत विपद्का घटना बढि हुने गरेका छन् ।