मेरिङदेन गाउँपालिकाको दोभानदेखि केन्द्र सम्मको सडक ३ वर्षभित्रै कालोपत्र गर्ने

मेरिङदेन गाउँपालिकाको दोभानदेखि केन्द्र सम्मको सडक ३ वर्षभित्रै कालोपत्र गर्ने


ताप्लेजुङ ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने भएको छ ।

जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको दोभादेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्र गरी थप चार वर्षमा वडा नं ६ नाल्बूसम्मकै सडक कालोपत्र गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बिहीबार गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त योजनालाई गौरवको योजनाका रुपमा लिइएको जनाएको छ । कालोपत्रका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ । उक्त सडक खण्डको स्तरोन्नतिका लागि सङ्घीय सरकारले समेत केही बजेट दिएकाले मद्दत मिलेको हो ।

अपुग बजेट व्यवस्थापनका लागि पुनः सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी निरन्तर काम अघि बढाइने गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले बताए। सडकको स्तरोन्नतिले सुरक्षित यातायात, आर्थिक अवसर सिर्जना, शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा पहुँच वृद्धि हुनाका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भएकाले गौरवको योजनामा राखिएको उनको भनाइ थियो ।

यस्तै खाम्लुङ, सान्थाक्रा, थिङ्लाबु, थुङ्थाप, खुवाखु हुँदै लेचुवा जानेलगायत गाउँपालिका भित्रका विभिन्न वडा र बस्तीका सडकलाई पनि स्तरोन्नति गरी बाह्रै महिना सवारी साधन आवतजावतमा सहज बनाइने गाउँपालिकाले जनाएको छ । यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि स्तरोन्नतिका काम सुरु गर्ने भएको छ ।

शेर्पा समुदायको बाहुल्यत रहेको मेरिङ्देन–२ मैखु हुँदै लिङ्तेप, थुकिमा र नाल्बू जोड्न हिमाली सडक पनि निर्माण गरिने भएको छ । गाउँपालिकाले १३औँ गाउँसमामार्फत बिहीबार रु ४४ करोड पाँच लाख ८३ हजारको बजेट तथा कार्यक्रम सार्वजानिक गरेको थियो ।