नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनमा वन्यजन्तुको मूर्ति

नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनमा वन्यजन्तुको मूर्ति


ढोरपाटन ।

नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनमा आउने आगन्तुकलाई आकर्षित गर्न देउरालीमा वन्यजन्तुको मूर्ति निर्माण गरिएको छ ।

ढोरपाटन नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाखले उपत्यका प्रवेशद्वार देउरालीमा झारल र नाउरको मूर्ति बनाइएको हो । नाउर र झारलको सिकार ढोरपाटन आरक्षमा मात्रै गर्न पाइने हुँदा ती मूर्ति बनाइएको नगरपालिकाले जनाएको छ । सिकार आरक्षमा देउराली हुँदै पुगिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले देख्ने गरी मूल प्रवेशद्वारमै वन्यजन्तुको मूर्ति राखिएको नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले बताए।

सिकार आरक्षलाई चिनाउनका लागि ‘सिम्बोल’ का रुपमा चिनाउन मूर्ति राखिएको उनको भनाइ थियो । अहिलेसम्म प्रवेशद्वारमा सिकार आरक्ष चिनाउने खालका कुनै पनि संरचना नबनेकाले यसपालि नगरपालिकाले सुरुआत गरेको उपप्रमुख कायतले बताए ।

प्रवेशद्वारलाई व्यवस्थित बनाउँदै आगन्तुकलाई सहजरुपमा उपत्यका पुग्ने वातावरण बनाइने भएको छ । सडकका कारण ढोरपाटन पुग्ने पर्यटकले समस्या भोग्नु परेकाले सालझन्डी–ढोरपाटन सडक आयोजना कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक काम गर्न आग्रह गरिरहेको उल्लेख गर्दै उपप्रमुख कायतले भने, “ढोरपाटन जति सुन्दर छ प्राकृतिकरुपमै छ, अहिलेसम्म त्यसलाई थप व्यवस्थित र थप सुन्दर बनाउने काम हुन सकेको छैन, हामीहरुले कोसिस गरिरहेका छौँ, यसपालि दुईवटा वन्यजन्तुको मूर्ति राखेका छौँ, अहिले जुन ठाउँमा मूर्ति रहेको छ, त्यो ठाउँ ढोरपाटन पुग्ने जो कोही मूर्ति देखेर–हेरेर मात्रै बल्ल उपत्यकामा प्रवेश गर्ने हुँदा प्रवेशद्वारमा मूर्ति बनाएका छौँ, यसले ढोरपाटनमा पर्यटक आकर्षण गर्न भूमिका निर्वाह गर्नेछ ।”

उक्त मूर्ति ललितपुरस्थित लुम्बिनी स्टोन कार्भिङ प्रालिले निर्माण गरेको हो । उपप्रमुख कायतले सडकका कारण ढोरपाटन आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन नसकेको बताए। वर्षौं अगाडि ट्र्याक खुलेको सालझन्डी–ढोरपाटन सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा स्थानीयवासीलाई समेत आवतआवजमा समस्या भएको उनको भनाइ थियो ।