२५ किमी दुरी घटाउने बुद्धसिं मार्गमा प्रदेश सरकारको चासो

२५ किमी दुरी घटाउने बुद्धसिं मार्गमा प्रदेश सरकारको चासो

पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गरिँदै


तनहुँ ।

तनहुँको दमौलीबाट चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दुरी कम पर्छ ।

गण्डकी प्रदेश सरकारले बुद्धसिं मार्गलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ ।

पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको बुद्धसिं मार्गको काम अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेमगरले बताए ।

बुद्धसिं मार्गमा कालोपत्रको काम अगाडि बढाउन लागिएको छ । दमौलीदेखि सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि काम अगाडि बढाउन लागिएको हो ।

‘प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ,’ मन्त्री आलेले भने, ‘पृथ्वी राजमार्गको विकल्प बन्नसक्ने यो बाटो स्तरोन्नतिमा प्रदेश सरकार प्रतिबद्ध छ ।’

रणनीतिक महत्वको सडक बुद्धसिंह मार्ग निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउन ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री आलेले बताए ।

उनले भने, ‘यो मार्गले राष्ट्रिय राजमार्गसँग वैकल्पिक राजमार्गको आबद्धतामा विस्तार भई सडक पूर्वाधारको उपभोगमा जनताको पहुँच अभिवृद्धि हुने विश्वास गरिएको छ ।’

बुद्धसिं मार्गको निर्माण कार्य बहुवर्षे योजनाअन्तर्गत पहिलो खण्डका लागि ५ करोड विनियोजन गरिएको हो ।

चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन । घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि भए वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिएको छैन ।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले केही समयअघि घुमाउने पुलको अवलोकन गरेर यसलाई चाँडो निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गर्ने बताएका थिए ।

उक्त पुल निर्माणका लागि २०७५ साल माघमा सम्झौता भएको थियो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल निर्माण समयमै हुन नसकेको बताए । १०५ मिटर लम्बाइ रहेको पुलको लागत ९ करोड ५६ लाख रुपैयाँ छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दुरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहँुको प्राविधिक सहयोगमा निर्माण हुनेछ ।

उक्त पुलको निर्माणपछि पोखरा र दमौलीबाट नारायणगढ आउन–जान हाल सञ्चालन भइरहेको मुग्लिन–नारयणगढ सडकभन्दा २५ किमीको दुरी छोटो पर्छ ।

घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।

पोखरा–नारायणगढ सडकको विकल्पका रूपमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्ला जान समय बचत हुने बुद्धसिं मार्गका पूर्वअध्यक्ष विश्व बास्तोलाले बताए ।

तनहुँको दमौलीदेखि घुमाउनेघाटसम्म नियमित रूपमा साना बस तथा २ पांग्रे सवारीसाधन आउने जाने गरे पनि २ पांग्रे सवारीसाधन भने झोलुंगे पुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार कार्य चलिरहँदा राजमार्ग धुलाम्य भएपछि मोटरसाइकल यात्रु भने बुद्धसिं मार्ग हुँदै आवतजावत गर्न थालेका छन् ।