नेप्से उच्च अंकले बढ्यो,३३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

नेप्से उच्च अंकले बढ्यो,३३ कम्पनीको सेयरमा सकारात्मक सर्किट


काठमाडौ ।

साताको तेस्रो कारोबारको दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ५६.९४ अंक बढेर २१८६.३६ अंकमा पुगेको छ।
नेप्सको यो वृद्धि साढे ४ महिना यताकै उच्च हो । यस अघि गत माघ २६ गते नेप्से परिसूचक २१८२.६३ अंकमा पुगेको थियो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.३६ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २।९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ प्रतिशत बढेको छ।

यस दिन २७५ स्टकको ८० हजार ३९८ पटकको कारोबारमा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ७ हजार कित्ता सेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन स्वाबलम्बन लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन २५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स र सोल्टी होटलको २२ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

कारोबार भएकामध्ये ३३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्। त्यसैगरी, अन्य १० स्टकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन ३७ स्टकको मूल्य घटेको छ। यद्यपि, स्टकहरुको मूल्य गिरावट दर भने कम रहेको छ। यस दिन सिक्लेस हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ३.८८ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ८.९६ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ४.४४ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक ३.९३ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन घटेका छन्।