सांसदकाे पहलमा कटान रोक्न ‘आपत्कालीन तटबन्ध’

सांसदकाे पहलमा कटान रोक्न ‘आपत्कालीन तटबन्ध’


काठमाडाै ।

प्रत्येक वर्खामा कटान हुने बाँकेको राप्ती सोनारी–२ कचनापुरस्थित मदुईमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको छ । लुम्बिनी प्रदेश सांसद कृष्णा केसीको पहलमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको हो ।

सांसद केसीका अनुसार यसका लागि जलस्रोत मन्त्रालयमार्फत रु दुई करोड बजेट निकासा भएको छ । “सकेसम्म वर्षायाम अगाडि नै काम पूरा गर्ने गरी लागेका छौँ, विगतमा ठूलो क्षति पु¥याएको छ, हेक्टरौँ हेक्टर जमिन कटान भएर गएको छ”, सांसद केसीले भने।

विगत दुई दिनदेखि राप्तीमा कटान नियन्त्रणसम्बन्धी काम भइरहेको जनताको तटबन्ध कार्यालय लमहीका इन्जिनियर सूर्यदेव नायकले बताउनुभयो । राप्तीमा पानीको बहाव बढेकाले तारजालीको तटबन्ध गर्न समस्या हुने भएपछि आकस्मिक रोकथामको प्रयासस्वरुप अहिले ठूल्ठूला ढुङ्गा नदी छेउमा राख्ने गरिएको उहाँले बताउनुभयो । उक्त क्षेत्रमा करिब दुई सय २५ मिटर बराबर तटबन्ध गर्ने योजना रहेको छ ।

उनले ठूला ढुङ्गा राख्दा नदीले काट्न गर्न नपाउने बताउँदै ३० सेन्टी मिटरभन्दा कम ढुङ्गा नराखिने बताए। कचनापुरको मदुई, फत्तेपुरको खल्ला झगडिया, नरैनापुरको भोजभगवानपुरलगायत नौ स्थानमा कटान नियन्त्रण गर्न आवश्यक रहेको इन्जिनियर नायकको भनाइ छ ।

पूर्वमन्त्रीसमेत रहनुभएका कचनापुरका स्थानीय प्रेमबहादुर भण्डारीले राप्ती नदीले आफ्नो करिब १२ बिघा जमिन कटान गरेको बताउनुभयो । “करिब ३० बिघा पक्का जमिन कटान भइसकेको छ, बिनौना र मदुवाको बीचमा पुलमा पनि क्षतिको सम्भावना छ ।”

नदी नियन्त्रणका लागि ठेक्का लागे पनि काम नभएको उनको भनाइ छ । राप्तीको बाढीले अहिलेसम्म करिब ३० बिघा पक्का जमिन कटान गरिसकेको छ । विसं २०७४ मा आएको बाढीले राप्तीको खेतीयोग्य जमिन कटान गर्न सुरु गरेको थियो ।