डुडुवामा ‘कष्टम हायरिङ सेन्टर’ स्थापना

डुडुवामा ‘कष्टम हायरिङ सेन्टर’ स्थापना


बाँके ।

बाँकेको डुडुवा गाउँपालिकामा ‘कष्टम हायरिङ सेन्टर’ स्थापना गरिएको छ । सो सेन्टर स्थापनाबाट स्थानीय किसानले विभिन्न कृषि उपकरणको सुविधा लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले जनाएको छ ।

जनचाहना कृषक समूहले स्थापना गरेको उक्त सेन्टरबाट किसानले सहुलियत दरमा उपकरणको प्रयोग गर्न पाउँछन् । सेन्टरमा ट्र्याक्टर, ट्रली, कल्टिवेटर, धान थ्रेसर, गहुँ थ्रेसर, रोडावेटर, मकै थ्रेसर, लेजरल्यान्ड लेवरल र रिपर रहेका छन् । ती उपकरणमा कूल रु ४३ लाख लगानी रहेको छ । गत आर्थिक वर्षमा रु ३३ लाख लगानी गरेको परियोजनाले यस आर्थिक वर्षमा रु १० लाखका उपकरण किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

बाँकेको खजुरामा पनि सो सेन्टर स्थपना गरिएको छ । सेन्टरमा ट्र्याक्टर लगायतका उपकरण रहेका छन् । सबै उपकरण ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । ‘कष्टम हायरिङ सेन्टर’ डुडुवाबाहेक बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, खजुरालगायत सात स्थानमा छ ।

डुडुवा–६ का किसान जयलाल मौर्यले किसानले उपकरणको भरपुर उपयोग गरेको जानकारी दिँदै खेतीमा उपकरणको प्रयोगले आम्दानीमा वृद्धि भएको बताए । उनले भने, “किसानले गरेको लगानीको प्रतिफल उठाउन विद्युत् नियमित नभएका कारण अप्ठयारो भएको छ, त्यसैले जब विद्युत् आउँछ राति नै सिँचाइका लागि हामी खेतमा दौडिन्छौँ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख राकेश ओझाले कृषि उपकरणमा नेपाल सरकारको लगानी भएकाले सबै किसानले त्यसको लाभ लिन आग्रह गरे । उनले कृषि प्रणाली विगतमा भन्दा धेरै प्रविधिमैत्री भएको उल्लेख गर्दै प्रविधिलाई खेतीमा प्रयोग गरेर त्यसको किसानले फाइदा लिन सक्नुपर्ने बताए ।