बर्दिबास नगरपालिकाकाे नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने नीति विवादमा

बर्दिबास नगरपालिकाकाे नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने नीति विवादमा


महोत्तरी।

बर्दिबास नगरपालिकाले ठेक्का नलागे पनि नदीजन्य पदार्थको उत्खनन् गर्न सकिने नीति तथा कार्यक्रम बनाएको छ । नगरको १२औँ सभामा खानी तथा खनिजअन्तर्गत बनाइएको नीतिमा नगरपालिकाभित्र बग्ने खोला तथा नदीवाट ढुंगा, गिटी, बालुवा, माटोलगायत नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने व्यवस्था गरिएको हो ।

नगरको आन्तरिक आय बढाउन ठेक्का बन्दोबस्त गर्दा पनि ठेक्का नलागेको खण्डमा राजस्व शाखामा कर दाखिला गरेर बिक्रीवितरण गर्न सकिने व्यवस्थगा नीति तथा कार्यक्रमले गरेको हो ।

‘नियमन ठेक्का बन्दोबस्त गर्दा ठेक्का नलागेको खण्डमा विकास निर्माण कार्य प्रभावित हुने हुँदा अर्को व्यवस्था नभएसम्म राजस्व शाखामा कर दाखिला गरेर नदीजन्य पदार्थको बिक्रीवितरण गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

बर्दिबास नगर क्षेत्रमा अवैध उत्खनन् भइरहेको प्रश्न उठिरहेको बेला नगरले बनाएको यो नीतिलाई लिएर स्थानीयहरू सशंकित भएका छन् । नगर क्षेत्रको विशेषगरी रातु नदीमा अवैध दोहन भइरहेको बाक्लै गुनासो आइरहेको बेला नगरले बनाएको यो नीतिले नदीजन्य दोहानमा थप प्रोत्साहन गरेको स्थानीयको प्रतिक्रिया छ ।

जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुमनलाल कर्णले पनि नगरसभामा प्रस्तुत उक्त नीति तथा कार्यक्रममाथि आपत्ति जनाए । ’कुनैपनि खोलाको नदीजन्य वस्तु उत्खनन् गर्न प्रारम्भिक वातावारणीय प्रभाव मूल्यांकन गर्नैपर्छ, कतै उत्खनन् गर्न नै पाइँदैन,’ उनले भने ।

यता नीति तथा कार्यक्रममा जे उल्लेख भए पनि विवादास्पद भए थप छलफल गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले बताए । नगर क्षेत्रमा झन्डै १४ वटा क्रसर उद्योगहरु छन । महालेखा परीक्षकको कार्यालय २०७८–७९ को रिपोर्टअनुसार नगरभित्र सञ्चालनरत कुनै पनि क्रसर उद्योगहरुले नगरमा विवरण नबुझाएको पाइएको छ ।