संसदबाट बजेट बहुमतले पारित

संसदबाट बजेट बहुमतले पारित


काठमाडौ ।

‘विनियोजन विधेयक, २०८०’  बहुमतले पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

बैठकमा उपस्थित २५५ जना रहेका र प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको सभामुख घिमिरेले बताए ।सभामुख  घिमिरेले सो संख्या प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले विनियोजन विधेयक पारित भएको घोषणा गरे।

त्यसअघि सभामुख घिमिरेले मत विभाजनका लागि पाँच मिनेट जनाउ घण्टी बजाउन सचिवालयलाई निर्देशन दिई आवश्यक प्रक्रिया अगाडि बढाएका थिए ।  त्यसअघि अर्थमन्त्री डा महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनि मतका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको पक्षमा बहुमत रहेको भन्दै उहाँले विनियोजन विधेयक २०८० पारित भएको घोषणा गरेका थिए । तर, नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए । मत विभाजनको माग भएपछि सभामुखले उक्त प्रक्रिया अगाडि बढाएका हुन् ।

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको हो ।