तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड सम्पन्न

तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड सम्पन्न


काठमाडौ ।

बागमती प्रदेश, कृषि तथा पशुपंछि विकास मन्त्रालयको सहयोग तथा शिखर नेपालको आयोजनामा तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०८० राजधानीमा सम्पन्न भएको छ । मुलुकलाई कृषिजन्य उत्पादन, मासु तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर होस भनेर कृषिकर्ममा लागेका कृषि उद्यमीहरूको सम्मानमा सो एग्रिकल्चर अवार्ड कार्यक्रमको आयोजना गरिएको हो ।

अवार्ड कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकार, कृषि तथा पशुपंछि विकास मन्त्रालयका माननीय मन्त्री वेदुराम भुसालले व्यवसायीक कृषि उद्यमीहरूलाई कृषिकर्ममा निरन्तर लाग्न प्रोत्साहन मिलोस भन्ने उद्धेश्यले सो अवार्ड कार्यक्रमको आयोजना गरिएको बताए। कार्यक्रममा सहभागिहरूलाई स्वागत गर्दै तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डका संयोजक तथा अवार्ड परिकल्पनाकार डा.योगेन्द्र कुमार कार्कीले यस प्रकारको कार्यक्रम आयोजना गर्न सफल भएकोमा खुसी व्यक्त गरे। सो अवार्ड कार्यक्रमको सभापतित्व शिखर नेपाल तथा तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०८० मूल समारोह समितीका अध्यक्ष शेखर खनालले गरेका थिए ।

तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०८० का लागि कृषिका सात विधाहरूमा अधिराज्यभरबाट एक सय तीस कृषि उद्यमीहरूको आवेदन परेको थियो । जसमध्ये सात जनाको निर्णायक मण्डल समुहले सात विधाहरूमा प्रत्येक विधाबाट “उत्कृष्ट पाँच” कृषक–कृषिफर्मको चयन गरी सो मध्येबाट पनि एकएक वटा “सर्वोत्कृष्ट” कृषक–कृषिफर्मको छनौट गरेको थियो ।

सो सात विधाका “तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०८०” प्राप्त गर्ने सर्वोत्कृष्ट कृषक–कृषिफर्महरूमा गार्ई,भैँसी र चौरी पालन तर्फ नेत्रमणी दनाई–दनाई काउ फर्म–चितवन, मत्स्यपालन तर्फ लक्षिण गुरूङ्ग–अमृत गुरूङ्ग–गण्डकी टाउट फर्म–पोखरा, भेडा, बाख्रा, च्याङग्रा तथा बङगुर पालन तर्फ पासाङ तामाङ–एन आर एग्रो–रसुवा, पोल्ट्रि व्यवसाय तर्फ बिनोद पोखरेल–दाउन्ने एग्रो फर्म–नवलपरासी, तरकारी उत्पादन तर्फ भरत के.सी।–हिमालय पोटेटो रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर–रामेछाप, फलफूल उत्पादन तर्फ समराज गुरूङ्ग–एग्रो मनाङ–मनाङ र नर्सरी तथा पुष्प व्यवसाय तर्फ राजु शाही–प्रभा थापा– एभरेष्ट फ्लावर–काठमाडौं रहेका छन् ।

कार्यक्रमकै क्रममाः चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड” आउँदो अक्टुबर महिनामा क्यानडामा हुने पनि आयोजकले जानकारी गराएको थियो ।

शिखर नेपाल २०६० सालमा स्थापित सामाजिक संस्था हो । संस्थाले कलाकारिताका माध्यमबाट समाजमा व्याप्त विकृति, विसंगती विरूद्व आवाज उठाउँदै आएको छ । यसका साथै समाज तथा राष्ट्रका लागि विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गर्न सम्मान समारोह एवम् अवार्ड कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । यसै क्रममाः यस वर्षको शिखर सम्मान सो एग्रिकल्चर अवार्डको संदर्भ पारेर अवार्ड कार्यक्रमसँगसँगै संयोजन गरि राष्ट्रमा विशेष योगदान पु¥याउने केहि विशिष्ट व्यक्तित्वहरूलाई “शिखर सम्मान”, “शिखर व्यक्तित्व सम्मान” र “शिखर व्यक्तित्व वर्ष सम्मान” बाट सम्मानित पनि गरिएको थियो ।