सार्वजनिक जग्गा जाेगाउन भरतपुर महानगरले खोलामा सीमांकन थाल्याे

सार्वजनिक जग्गा जाेगाउन भरतपुर महानगरले खोलामा सीमांकन थाल्याे


 चितवन ।

भरतपुरको केरुंगा खोलाको सीमांकनको काम सुरु भएको छ । आज महानगरपालिकाको वडा-५ र ६ को सिमानाबाट सीमांकन सुरु गरिएको हो ।

खोला सीमांकनको काम शुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सार्वजनिक जमिन संरक्षणको कामलाई निरन्तर अघि बढाएको बताइन् । उनले महानगरमा अतिक्रमित जमिनको संरक्षण गरिने भन्दै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताइन्।

‘सार्वजनिक जग्गामा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथमिकता राखेको छ,’ महानगर प्रमुख दाहालले भनिन्, ‘व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको छ ।’

केरुंगा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले वडा-११ देखि २४ को राप्ती नदीसम्म पुग्ने खोला ३० किलोमिटर लामो रहेको बताए । उनका अनुसार उक्त खोला वडा नं १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ नम्बर हुँदै बगेको छ । संयोजक अधिकारीले प्रक्रिया पूरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताए ।

हिउँदमा नारायणी लिफ्टको पानी नहरमा हालेर केरुंगामा डुंगा चलाउने योजना बनाइएको उपप्रमुख अधिकारीले बताए । खोलाको संरक्षणपश्चात् यसको सौन्दर्यकरण गर्ने काममा लाग्ने उनको भनाइ छ ।

केरुंगा खोलाको सीमांकनको कार्य निरन्तर अघि बढ्ने महानगरपालिकाका इन्जिनियर शिवहरि अधिकारीले बताए ।

‘केरुंगा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि १४ करोड रुपैयाँ विनियोजन भएको छ,’ उनले भने, ‘केरुंगा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यकरण गर्न ३ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।’

खोलामा डुंगा चलाउन मिल्ने गरी दाँयाबायाँ साइकल ट्र्याक र ठाउँ-ठाउँमा पार्कसमेत निर्माण गरिने उनले जानकारी दिए ।