के-के हुन् प्रधानमन्त्री प्रचण्डले भारतसँग गरेका सम्झौता ?

के-के हुन् प्रधानमन्त्री प्रचण्डले भारतसँग गरेका सम्झौता ?

तल्लाे अरुण आयाेजना भारतीय कम्पनी सतलजले निर्माण गर्ने


काठमाडौँ ।

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्टलगायत समझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।

ट्रिटी ट्रान्जिटको पुनरावलोकन गर्ने सम्झौता भएको छ । त्यसमा नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्य तथा आपूर्तिमन्त्री पीयुष गोयबीच सम्झौता आदान प्रदान भएको हो।

दुई देशबीच क्रस बोर्डर पाइपलाइन अन्तर्गत अमलेखगंज– चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको सम्झौता भएको छ।

यो सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजाल र भारतका पेट्रोलियम मन्त्री हरदीपसिंह पुरीले हस्ताक्षर गरेका हुन्।

अर्को सम्झौता सुस्मा स्वराज इस्टिच्युट फरेन सर्भिस रहेको छ। त्यसमा दुई देशका राजदूतबीच हस्ताक्षर भएको छ।

दोधारा चाँदनी आइसिसीको बारेमा समेत सम्झौता भएको छ। त्यसमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासीनी र भारतका तर्फबाट भारतका राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका हुन्।

यस्तै, फुकोट कर्णाली जलविद्युत विकास सम्झौता पनि भएको छ भने क्रस बोर्डर पेमेन्ट सम्बन्धमा समेत सम्झौता भएको हो।

यसैबीच, तल्लो अरूण जलविद्युत आयोजना भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलजका सिएमडिए एनएल शर्माबीच सम्झौता भएको हो। सम्झौतामा यो आयोजनाबााट नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउँछ। बाँकी बिजुली नेपाल सरकारलाई रोयल्टी तिरेर सतलजले भारतीय बजारमा पुर्‍याउने उल्लेख छ।

६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत परियोजना निर्माणका लागि लगानी बोर्ड नेपालले ९२ अर्ब ६८ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरिसकेको छ।