प्रचण्ड-माेदीद्वारा नेपालगन्जको एकीकृत जाँच चौकी उद्घाटन, भैरहवाको शिलान्यास

प्रचण्ड-माेदीद्वारा नेपालगन्जको एकीकृत जाँच चौकी उद्घाटन, भैरहवाको शिलान्यास


नयाँ दिल्ली ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा नेपालगन्जको रुपैडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँच चौकीको उद्घाटन गरेका छन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट प्रचण्ड र मोदीले सो जाँच चौकीको उद्घाटन गरेका हुन् । सोही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ ।

यसअघि विरानटगरमा त्यस्तै जाँच चौकी निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ । सवारीसाधनको सहज पार्किङ, सामान आयात तथा निर्यातमा त्यस्ता संरचनाले महत्त्वपूर्ण सहयोग गर्नेछन् ।

यस्तै, बैतडीको झुलाघाट नाकामा दुई पक्की पुल निर्माण हुने भएको छ । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई पुल बनाउने जानकारी दिएका थिए ।

त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ । सो स्थानमा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सहमति भएको हो ।

पछिल्लो सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्नेछ । नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

बन्दरगाह निर्माणका लागि २०६४ मा प्रस्ताव गरिएको थियो । बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनसमेत भइसकेको छ ।