काेभिडपछि बाैरिँदै छ नेपालकाे पर्यटन, ५ महिनामै आए ४ लाख विदेशी पर्यटक

काेभिडपछि बाैरिँदै छ नेपालकाे पर्यटन, ५ महिनामै आए ४ लाख विदेशी पर्यटक

नेपाल घुम्नेमा बढी भारतीय पर्यटक


तस्बिरमा पाेखराकाे रमणीय दृश्य ।

तस्बिरमा पाेखराकाे रमणीय दृश्य ।

काठमाडौँ ।

सन् २०२३ को ५ महिनामा ४ लाख ४ हजार २५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि मे महिनासम्म सो संख्यामा पर्यटक भित्रिएका हुन् ।

मे महिनामा मात्रै ७७ हजार ७३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए ।

तथ्यांकअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार ५७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट ८ हजार ५४५, चीनबाट ४ हजार ६६७, बेलायतबाट २ हजार ९२७, अस्ट्रेलियाबाट २ हजार १८४ जना पर्यटक आएका छन् ।

बंगलादेशबाट २ हजार १६४, मलेसियाबाट १ हजार ३२१, जर्मनीबाट १ हजार १६५, फ्रान्सबाट १ हजार ९७ र दक्षिण कोरियाबाट १ हजार ३९ जना पर्यटक भित्रिएका छन् ।

कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन संख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित थियो ।

तर, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएर ६ लाख १४ हजार ८६९ पुगेको छ । सन् २०२३ मा पर्यटक आगमन निरन्तर बढिरहेको छ ।