१० वर्षमा पनि बनेन प्रचण्डका घरबेटीले ठेक्का पाएकाे सडक

१० वर्षमा पनि बनेन प्रचण्डका घरबेटीले ठेक्का पाएकाे सडक

शैलुङसँग ठेक्का ताेडेपछि लाग्नै सकेन नयाँ ठेक्का


काठमाडाैँ ।

बेलाबेला चर्चामा आइरहने नाम हाे- प्रचण्डका घरबेटी । अर्थात् शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी । ठेक्का लिँदै काम अधुराे छाड्नेमा उनकाे नाम कतै न कतै जाेडिएकै हुन्छ ।

उनै अधिकारीकाे कन्स्ट्रक्सनसमेतले जिम्मा लिएकाे सडक अहिले अलपत्र अवस्थामा छ । उनकै कम्पनीसमेतले निर्माण सुरु गरेको बालाजु–त्रिशूली सडक १ दशकसम्म पनि बनिसकेको छैन ।

निर्माणाधीन बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमीमध्ये बालाजु–त्रिशूलीअन्तर्गत साढे ४ किमी मात्रै सडक निर्माण भएको छ ।

लामो समयसम्म निर्माण व्यवसायीले काम नगर्दा अवरुद्ध सडकको ठेक्का गत वर्ष तोडिए पनि कानुनी अड्चनका कारण नयाँ ठेक्कामा जान नसक्दा निर्माण रोकिएको बालाजु–त्रिशूली–छहरे–विदुर सडक योजनाका इन्जिनियर सागर भण्डारीले बताए ।

उनका अनुसार २०७०/७१ मा निर्माण कम्पनीसँग सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । बालाजुबाट पीपलटारसम्मको सडक निर्माणको जिम्मेवारी आइपिएल र शैलुङ कन्स्ट्रक्सनलाई दिइएको थियो ।

पटक–पटक अवधि थप हुँदासमेत काम नभएपछि गत वर्ष ठेक्का तोडेको उनले बताए  उनले भने, ‘अहिले हामी बाँकी खण्डमा ठेक्का व्यवस्थापनको प्रक्रियामा अगाडि बढाउन लागेका छौँ ।’

मुड्खु–तिनपिप्ले खण्डमा कालोपत्र भएपछि अहिले तिनपिप्लेबाट रानीपौवा खण्डको निर्माण बाँकी रहेको योजनाले जनाएको छ । ‘यसअघि काम गरेको निर्माण कम्पनीको मुद्दा चलिरहेको छ भने रानीपौवादेखि पीपलटारसम्म खण्डको पनि मुद्दा अदालतमा विचाराधीन छ,’ इन्जिनियर भण्डारीले भने ।

वर्षाको समयमा आवागमनमा निकै सास्ती हुने गरेको स्थानीयको भनाइ छ । अहिले सडक बिग्रिएको ठाउँमा काठमाडौँस्थित डिभिजन सडक कार्यालयले मर्मत गरिरहेको छ ।

इन्जिनियर भण्डारीले वर्षाको समयमा पनि आवागमन नरोकिने गरी मर्मत भइरहेको बताए । ‘तीनपिप्लेबाट–रानीपौवा १२ दशमलव ५१ किमी र रानीपौवा–पीपलटार ३३.६९ किमी गरेर झन्डै ५५ किमी लम्बाइ छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरी यस यो योजनाले ६६ किमी सडक निर्माण गर्नुपर्ने छ,’ उनले भने ।