बथनाहा-विराटनगर कार्गाे रेल सुरु, अब साेझै विराटनगर आउँछ उद्याेगकाे कच्चा पदार्थ

बथनाहा-विराटनगर कार्गाे रेल सुरु, अब साेझै विराटनगर आउँछ उद्याेगकाे कच्चा पदार्थ


काठमाडौँ ।

सीमावर्ती भारतको कटिहार जिल्लाको बथनाहाबाट विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सञ्चालनमा आएको छ ।

विभिन्न ध्वजापताकाले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ बोकेर विराटनगर आइपुगेको हो ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रूपमा नयाँ दिल्लीबाट हरियो झन्डा देखाएर उद्घाटन गरेपछि बथनाहाबाट छुटेको रेल ८ किलोमिटर दुरीमा रहेको विराटनगर बुधनगरस्थित नेपाल कस्टम यार्ड आइपुगेको हो ।

बथानाहाबाट विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीको कस्टम यार्ड रेलमार्गमा कार्गो रेल सञ्चालन भएको हो । कार्गो रेल विराटनगर आएपछि उद्योगपति, व्यापारी एवं सर्वसाधारणले स्वागत गरेका छन् ।

यसअघि भारतको बथनाहासम्म उद्योगका कच्चा पदार्थ रेलमार्फत् आउने गरेको र त्यहाँबाट मालवाहक सवारीसाधनमार्फत् उद्योगमा ल्याउने गरिएको थियो ।

कार्गो रेल सेवा सञ्चालनले भारतलगायत तेस्रो मुलुकबाट आएका कच्चा पदार्थ अब सोझै विराटनगरको एकीकृत भन्सार जाँच आइपुग्दा व्यापारीलाई सहज एवं ढुवानी भाडामा समेत खर्च कम लाग्ने भएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उद्यमी व्यापारीको वर्षौंदेखिको चाहना पूरा भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा कच्चा पदार्थको ढुवानी सस्तो भई उपभोक्तालाई समेत राहत पुग्ने धारणा राखे ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गो रेल सेवा सञ्चालनले प्रदेशको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।

कार्गो रेल सेवासरह आगामी दिनमा राज्यले यात्रुवाहक सेवा पनि सञ्चालन गर्नुपर्नेमा स्थानीयबासीको भनाइ छ । उक्त आयोजनाको निर्माण लागत भारु ३ अर्ब ७३ करोड छ ।

भारतको बथनाहाबाट मोरङको कटहरी गाउँपालिकाको महेशपुरसम्म १८ किलोमिटर रेल सञ्चालनका लागि १२ वर्षअघि सम्झौता भई काम सुरु भए पनि जग्गा मुआब्जाको विवादले बाँकी खण्डमा काम रोकिएको छ । अहिले ८ किलोमिटर रेलमार्गमा मात्र सेवा सञ्चालनमा आएको छ ।