काम अलपत्र छाडेर किन भाग्छन् ठेकेदार ? भ्याट कार्यालयकाे भवन अधुरै

काम अलपत्र छाडेर किन भाग्छन् ठेकेदार ? भ्याट कार्यालयकाे भवन अधुरै


तनहुँ ।

निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् ।

संघीय सरकारको ५ करोड २१ लाख रुपैयाँमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक/भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो । १८ महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी २०७८ असोज २२ गते सो सम्झौता भएको हो ।

२०७९ चैतमा भवन निर्माण सक्नुपर्ने थियो । ठेकेदार सम्पर्कविहीन भएपछि भवन निर्माणको काम अधुरै रहेको कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले जानकारी दिए ।

निर्माणको काम रोकिएपछि ठेकेदारलाई पटक–पटक सम्पर्क गर्दा सम्पर्कसमेत हुन नसकेको उनले बताए । ‘निर्माणको समय सकिएपछि ६ महिनाका लागि म्याद थप गरिएको छ । तर, ठेकेदार हालसम्म सम्पर्कमा नै आएका छैनन । म्याद थप गरिएको पनि २ महिना बितिसकेको छ, अझै सम्पर्कमा आएका छैनन्,’ उनले भने ।

ठेकेदारलाई हालसम्म ३ पटक पत्राचार गरिएको छ । ‘फोन सम्पर्क भएको छैन, पत्र इमेलमार्फत पठाएका छौँ । अब पनि सम्पर्कमा आएन भने कानुनी उपचार खोज्छौँ,’ पराजुलीले भने, ‘समयमा काम सम्पन्न नगर्ने र सम्पर्कमा आएन भने कालो सूचीमा राख्न वा कम्पनी खारेजको मागसहित पत्रचार गर्ने तयारीमा छौँ ।’

समयमा भवन निर्माण भएको खण्डमा सेवाग्राहीलाई सेवा प्रवाहमा सहज हुने प्रमुख पराजुलीले बताए । कर सेवा प्रवाह गर्दा सेवाग्राहीलाई लामो समय उभिएर बस्नुपर्ने बाध्यता रहेको उनकाे भनाइ छ ।

कार्यालयको भवन निर्माण सम्पन्न भएको खण्डमा सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह तथा सेवाग्राहीलाई बस्ने व्यवस्था गर्न सकिने उनले बताए ।

 

याे पनि :