डढेलोले पाइप जलेपछि पाल्पामा खानेपानी समस्या

डढेलोले पाइप जलेपछि पाल्पामा खानेपानी समस्या


पाल्पा ।

डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ । जंगलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो ।

मोलोगैरा सामुदायिक वनमा लागेको आगोले खानेपानी ल्याइएको पाइपमा क्षति पुगेको छ । वन क्षेत्रभित्रको २५० मिटर पाइप जलेपछि खानेपानीको समस्या निम्तिएको छ ।

यहाँका सोमै थर र थाम थरका १० घरपरिवारलाई पानीको समस्या भएको स्थानीय तिलबहादुर सुनारीले बताए ।

सडक निर्माणको क्रममा जमिनमुनि गाडिएको पाइप बाहिर निकालेकाले पाइपमा क्षति पुगेको छ । निस्दी गाउँपालिका–४ झ्याल्टुङको मुहानबाट ल्याएको पानी स्थानीयले वषौँदेखि पिउँदै आएका थिए ।

पाइप जलेपछि स्थानीयले मुहानबाट घन्टाैँ चर्चिएर पानी बोकेर खाने बाध्यता सिर्जना भएको स्थानीय मञ्जु सारुले बताइन् ।

गाउँमा लिफ्टिङ प्रणालीको योजना रहे पनि घाम लागेका समय पानी आउने र अन्य समय बन्द हुने हुँदा मुहानबाटै पानी बोकेर पिउनुपरेको स्थानीयले बताए ।