यस्ताे बन्दै छ मुग्लिनबाट मलेखुसम्मकाे सडक

यस्ताे बन्दै छ मुग्लिनबाट मलेखुसम्मकाे सडक


काठमाडाैँ ।

मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नति सुरु गरिएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डमा स्तरोन्नतिको काम थालिएको हो ।

३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए । पहिलो चरणमा ५ किलोमिटरमा काम भइरहेको छ ।

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम ९ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने ४ देखि ६ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिनेछ ।

यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म ६ वटा पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् ।

खटौटीमा पुल निर्माण अघि बढेको छ । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछ । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, मझिमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिनेछ ।

आयोजनाको यो खण्ड ४ अर्ब ८० करोड रुपैयाँ लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रूख काट्न बाँकी छ । यो खण्डमा करिब ३५० रूख काटिनेछन् ।

‘यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँ’, उनले भने, ‘पहाड काट्दा सधैँ पहिराेले दुःख दिने सम्भावना हुन्छ ।’ सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ ।

संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाले तीव्र गतिमा काम अघि बढाएको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । नागढुंगा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ ।