धमाधम अतिक्रमित संरचना हटाउँदै भरतपुर महानगर

धमाधम अतिक्रमित संरचना हटाउँदै भरतपुर महानगर


भरतपुर ।

भरतपुर महानगरपालिका-१० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ । वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो ।

उनका अनुसार गत दसैँयता यहाँ अस्थायी निर्माण गरी व्यापार–व्यवसाय गरिँदै आएको थियो । पटक-पटक सूचना जारी गरी हट्न आग्रह गर्दासमेत अटेर गरेपछि डोजर लगाएर संरचना भत्काइएको उनले जानकारी दिए ।

वडाध्यक्ष खनालले भने, ‘ऐन कानुनको कार्यान्वयन गर्नुपर्ने बाध्यता हो । यसलाई सबैले पालना गरेर सहयोग गर्नुपर्छ ।’

यसैगरी हाकिमचोकबाट क्यान्सर अस्पतालतर्फ जाने बाटोको दुवैतर्फ अतिक्रमित १२ संरचना भत्काउन ३५ दिने सूचना जारी गरिएको छ । सूचनाको मिति सकिँदासमेत कसैले नभत्काएकाले आज ७ दिनको सूचना जारी गरी अटेर गरेमा भत्काइने उनले जानकारी दिए । उनले भने, ‘अन्य क्षेत्रमा पनि अतिक्रमण भएका संरचनालाई भत्काइनेछ ।’

वडा-१० भित्रका विद्यालय, अस्पताल, फलफूल पसल, सुपरमार्केट, मासु पसललगायतमा अनुगमनलाई तीव्रता दिइएको छ । वडाध्यक्ष खनालकाे नेतृत्वमा अनुगमनका क्रममा भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रिएको सामग्री भेटिएको, वैष्णव मिष्ठान्न भण्डारमा एउटै तेल पटकपटक प्रयोग गरिएको पाइएको उनले जानकारी दिए ।

यसैगरी ४ वटा मासु पसलमा अनुगमन गर्दा दीपेन्द्र चोकको सन्तोष मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको, वीरेन्द्र क्याम्पस गेटअगाडिको जुस पसलमा आँप पकाउन अखाद्य वस्तु प्रयोग गरिएको पाइएको उनले जानकारी दिए । अन्यलाई सचेत गराइएको छ भने जुस पसल बन्द गराइएको छ ।

यस्तै चितवन मावि र भरतपुर माविमा गरिएको अनुगमनमा शिक्षक ढिला कक्षामा जाँदा विद्यार्थी हल्ला गरेको पाइएपछि समयमा विद्यालय नआउने र ढिलो कक्षामा जाने शिक्षकलाई कारबाही गर्न भनिएको छ ।

केही दिनअघि वडाध्यक्ष खनालको नेतृत्वमा गएको टोलीले भरतपुर अस्पतालको अनुगमन गरी गुनासाे सम्बोधन गर्न अस्पताल विकास समिति र प्रशासनलाई आग्रह गरेको थियो ।