सेती जलविद्युत् आयाेजना : मंसिरदेखि उत्पादन सुरु गर्ने तयारी

सेती जलविद्युत् आयाेजना : मंसिरदेखि उत्पादन सुरु गर्ने तयारी


पाेखरा । कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ।

२०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।

उनका अनुसार ढिलोमा पनि आगामी मंसिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिक रूपमा विद्युत उत्पादन हुने छ । स्थानीयबासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए।

‘जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन। धेरै मानिस जोडिनुभएको छ। १ हजार ५०० जना प्रवर्द्धकको लगानी छ । सुरुआती लागत बढेको छैन । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ,’ उनले भने ।

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत् पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ।

पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२.५ मेगावाट क्षमताका २ वटा टर्बाइनमा खसालिने छ। सो आयोजना नदी जलप्रवाहमा आधारित छ।

कोरोना कहरकाबीच सुरु भएको आयोजनामा सुरुआती चरणमा काममा असर पुगेकाले १ वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताए।

आयोजनाको म्याद २०८१ साउनसम्म छ। उनले भने, ‘कोरोनाले काममा असर गर्दा १ वर्ष म्याद थप गर्नुपरेको हो।

स्थानीय सरकार, स्थानीयबासी तथा सबैको साथ सहयोगले आयोजना सम्पन्न हुने चरणमा छ। अबको ५ महिनाभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ।’

सेती जलविद्युत् आयोजनामा ५ अर्ब रुपैयाँ लगानी छ। यसमा ३ अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। अन्य लगानी प्रवर्द्धक, स्थानीयबासी तथा आइपिओ जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ।

आयोजनाका इन्जिनियर उपेन्द्र घिमिरेले हेडवर्क्सको काम सकिएर पानी पठाउन सुरु भएको बताए। त्यसैगरी पाइपलाइनतर्फ १५० मिटर जति मात्र काम बाँकी छ।

‘पावर हाउसको सिभिलको काम सकिएको छ। स्विचयार्डको काम भइरहेको छ र इलेक्ट्रोमेकानिकलको केही सामान आउन बाँकी छ,’ घिमिरेले भने, ‘सबै क्षेत्रतर्फ गर्नुपर्ने मुख्य काम सकिएको छ। केही सानातिना काम पूरा गर्नुपर्नेछ ।’

सेती आयोजनाबाट उत्पादित विद्युत् ४ किमी दुरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेसनमा जोडिनेछ। विद्युत् गृहबाट सवस्टेसनसम्म प्रसारण लाइन निर्माण भइरहेको छ। प्रसारण लाइमा १३ वटा टावर रहनेमा हालसम्म ११ वटामा काम भइरहेको इन्जिनियर घिमिरेले बताए ।

आयोजनाको सञ्चालकसमेत रहेका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले स्थानीय जनताको सहयोगबाट नै आयोजना सम्पन्न हुने चरणमा पुगेको बताए।

निर्माणका क्रममा आउने सानातिना समस्या छलफलका माध्यमबाट समाधान गर्दै आयोजनाबाट निकट भविष्यमा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उनले बताए । आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास गुरुङको छ ।