आर्थिक मन्दी : घरभाडा नबढाउन माग

आर्थिक मन्दी : घरभाडा नबढाउन माग


भरतपुर ।

व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र स‍म्भव भएमा छुट दिन उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ ।

आर्थिक मन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै संघले यस्तो आग्रह गरेको हो ।

संघले कोभिड–१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ । औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकीसमेत अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उसले जनाएको छ ।

आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सहज सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमा समेत वृद्धि नहुँदा उद्यमी व्यवसायीलगायत उपभोक्तासमेत प्रभावित भएको संघले जनाएको छ ।

संघले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर/सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै घर बहाल समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारो परेको उल्लेख गरेको छ ।

संघका अध्यक्ष चुननारायण श्रेष्ठले जारी गरेकाे अपिलमा भनिएको छ, ‘घर बहाल सम्झौताबमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न संघले सबैमा अपिल गरेको छ ।’