जनताको समस्यामा गल्याङका मेयरको अग्रसरता

जनताको समस्यामा गल्याङका मेयरको अग्रसरता

१ हप्तामा घर–घरमा पुग्यो खानेपानी


स्याङ्जा । 

गल्याङ नगरपालिका–११ जिमुवा टोलका जनता खानेपानीको समस्याबाट ग्रसित भएको लामो समय भयो । खानेपानीको समस्या लिएर वडादेखि नगरपालिका धाउन थालेको झन्डै ३ वर्ष भयो । तर, उनीहरूको समस्या सुनुवाइ भएन ।

२०७९ सालमा दोस्रो पटक स्थानीय तहको निर्वाचन भएपछि नयाँ मेयरले खानेपानी समस्या समाधानमा चासो दिने विश्वास उनीहरूले लिएका थिए । लामो समय नयाँ मेयरले खानेपानीमा चासो दिने पर्खाइमा रहेका जिमुवाबासी १ हप्ताअघि नगरपालिका पुगेर पानीको समस्या सुनाए ।

पटक–पटक विगतका मेयरलाई खानेपानीको समस्या सुनाउँदा सुनुवाइ नभएको गुनासो वर्तमान नगर प्रमुख गुरुप्रसाद भट्टराईलाई स्थानीय सुनाए । खानेपानीको मुहान छ, ट्यांकी पनि छ । तर, पाइप नहुँदा खानेपानीबाट वञ्चित भएको गुनासो गरे ।

भट्टराईले १ हप्ताभित्र स्थानीयलाई खानेपानीको व्यवस्थापन गरिदिने आश्वसान दिएपछि स्थानीय ढुक्क भएर घर फर्के । नगर प्रमुखले स्थानीयको समस्याको तत्काल सुनुवाइ गर्दै खानेपानीको समस्या भोगिरहेका जिमुवाबासीलाई १ हप्ताभित्र घर–घरमा पुग्ने गरी समस्या समाधान गरिदिएका छन् ।

लामो समयदेखि खानेपानीबाट पीडित भएका यहाँका स्थानीय शनिबार घर–घरमा पानी आएपछि निकै हर्षित देखिएका छन् ।

जिमुवा गाउँमा रहेका १५० घरधुरीलाई प्रशस्त खानेपानी पुगेको छ । ‘नागरिकको हरेक समस्यामा स्थानीय सरकार छ,’ नगर प्रमुख भट्टराईले भने, ‘सीमित साधन स्रोतका बाबजुद नागरिकको समस्या समाधानमा स्थानीय सरकार साथमा छ ।’

खानेपानी जस्तो संवेदनशील विषयमा नागरिकले दुःख पाउनु नहुने उनको भनाइ छ । ‘दीर्घकालीन योजना बनाएर बृहत खानेपानी योजना अगाडि सार्दै छौँ,’ उनले भने, ‘समृद्ध नगर बनाउने सोचमा हामी अगाडि बढिरहेका बेला खानेपानीबाट नागरिकले दुःख पाउने विषयले समृद्धिको यात्रामा बाधा पुग्छ ।’

खानेपानी पुगेपछि स्थानीयले स्थानीय सरकार रहेको महसुस भएको बताएका छन् । जनताको दुःखमा साथ दिने जनप्रतिनिधि हुने हो भने विकासमा कुनै समस्या नहुने स्थानीय सरस्वती डुम्रेले बताइन् । उनका अनुसार पानीकै कारण बसाइँसराइ गर्नुपर्ने अवस्थासम्म पुगेका थिए उनीहरू । तर, अब केही हदसम्म भए पनि समस्या समाधान भएको डुम्रेले बताइन् ।

तत्काल समाधानका लागि ८ लाख रुपैयाँ खर्चेर खानेपानीको व्यवस्थापन गरेको वडाध्यक्ष दलबहादुर सिञ्जालीले बताए । दीर्घकालीन समाधान हुने गरी वडाले कार्ययोजना बनाएर अछि बढ्ने अध्यक्ष सिञ्जालीले बताए ।