अदालतकाे आदेशपछि फोक्सिङटार–राजापानी सडक कालोपत्र सुरु

अदालतकाे आदेशपछि फोक्सिङटार–राजापानी सडक कालोपत्र सुरु


खोटाङ

खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्र सुरु गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)को महुरे–फोक्सिङटार सडकखण्डअन्तर्गत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राइमकोट राख्न सुरु गरिएको हो ।

ठेक्काको म्याद नाघेको वर्ष दिनभन्दा बढी समय बितेपछि ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जेठ २० गतेदेखि फोक्सिङटार–सिमपानीको रसुवाघाट खण्डमा प्राइमकोट राख्न सुरु गरेको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।

प्राइमकोटमाथि कम्तीमा ४८ घन्टापछि डिबिएसटी राखिन्छ । निर्माण कम्पनीले करिब ४ किलोमिटर खण्डमा प्राइमकोट राखिसकेकाे छ ।

खोटाङका प्रदेशसभा सदस्य भूपेन्द्र राईले ठेकेदार, सडक विभागलगायतमा पुगेर निरन्तर दबाब सिर्जना गरेपछि निर्माण कम्पनीले प्राइमकोट राख्न सुरु गरेको हो ।

सडक कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारको विरोधमा प्रदेशसभा सांसद पाँचकर्ण राई नेतृत्वमा स्थानीयले पनि वैशाख १७ गते महुरे (नुनथला)मा सडकमै बसेर डेढ घन्टा चक्काजाम गरेका थिए ।

ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले सम्झौताअनुसारको काम नगर्दा सडक कालोत्रको काम वर्षौंसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो ।

ठेक्का तोड्ने निर्णय विरुद्ध ठेकेदार अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगतिबारे अनुगमन गर्न माघ ४ गते अन्तरिम आदेश दिएको थियो ।

तर, अदालतको आदेशमा ठेक्का तोड्ने निर्णय उल्टाउन सफल भएका ठेकेदारले फर्किएर सन्तोषजनक प्रगति देखाउन भने सकेका छैनन् ।

अन्तिम फैसलाका लागि जेठ २४ गते तोकिएको पेसीमा कालोपत्रको प्रगति विवरण पेस गर्नुपर्ने भएका कारण ठेकेदार कम्पनी काम गर्नैपर्ने दबाबमा छ ।

अदालतको अन्तिम फैसला आफ्नो पक्षमा पार्न पनि ठेकेदारले काम गरेको देखाउन खोजेको अनुमान गरिएको छ । कालोपत्रको प्रगति विवरण उपलब्ध गराउन अदालतले सडक विभागमार्फत् पठाएको पत्र आइतबार गाईघाट-दिक्तेल सडक योजनाको कार्यालय पुगेको छ ।

ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले ठेक्का तोडेको सूचना जारी गरेको थियो ।

‘फैसलामा कसले हार्छ, कसले जित्छ, चासोको विषय होइन । खोटाङले हार्नु भएन । निर्माण कार्यले निरन्तरता पाउँदै योजना सम्पन्न हुनुपर्‍यो,’ प्रदेश सांसद राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्यायालयको फैसलालाई प्रभावित पार्न कोसिस गरिएको हो भने त्यो निकै महंगो पर्नेछ । अब खोटाङ झुक्किने छैन, ढाँटिने छैन । छलछाम अब खोटाङमा चल्दैन ।’

यस्तै महुरे–फोक्सिङटार सडकखण्डको ठेक्का महुरे–राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धि शाही जेभीले लिएको छ ।

गत पुस अन्तिम सातादेखि निर्माण स्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको भारत कन्ट्रक्सन/सिद्धि शाही माघ ४ गते क्रसरको सामान उठाएर हिँडिसकेको छ । दिक्तेल–गाईघाट सडक तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ फागुन १४ गते शिलान्यास गरेका थिए ।