लापरबाहीकाे पराकाष्ठा : म्याद सकिने बेलामा बल्ल खनिँदै छ जग

लापरबाहीकाे पराकाष्ठा : म्याद सकिने बेलामा बल्ल खनिँदै छ जग


खोटाङ ।

म्याद सकिन लाग्दा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटस्थित सुनकोसीमा पुल निर्माण सुरु गरिएको छ ।

३३ महिने म्याद सकिन लाग्दा एम/एस कालिका–वेदांशी जेभी, काठमाडौँले बंशिलाघाटमा जेठ १९ गतेदेखि पक्की पुल निर्माण सुरु गरेको हो ।

ठेकेदारले आगामी २०८० असोजसम्म म्याद रहेको पुलको फाउन्डेसनको काम सुरु गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए ।

प्रदेश सांसद भूपेन्द्र राईको निरन्तरको खबरदारीपछि ठेकेदार मेसिन लिएर बंशिलाघाट पुगेका छन् । बंशिलाघाटमा केही दिनदेखि ठेकेदारले पुलको काम सुरु गरेको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए ।

एम/एस कालिका–वेदांशी जेभीले ३३ महिनामा भ्याट र पिएससहित १९ करोड १८ लाख ४१ हजार ४०० रुपैयाँमा सक्ने गरी २०७७ पुस २८ गते पुलको ठेक्का सम्झौता गरेको थियो । तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले २०७९ पुस १ गते शिल्यान्यास गरेको पुलको काम हालसम्म ठप्प बनाइएको थियो ।

पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ । पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन बनेको ठेकेदारलाई खोजेर पुल शिलान्यास गराइएको थियो ।

तर, पुल शिलान्यासपछि पनि सो पेटी ठेकेदार भागेकाले मेन ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको प्रदेशसभा सदस्य राईले बताए ।

‘निरन्तरको दबाबपछि बंशिलाघाटको पुल निर्माण सुरु भएको छ,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब हेरौँ, कसरी ढिला सुस्ती हुँदोरहेछ ! काम नगर्नेलाई काम पुर्‍याउन हामीलाई राम्रैसँग आउँछ ।’

बंशिलाघाटमा हाल २०७५ सालमा बनाइएको झोलुंगे पुलमार्फत् सुनकोसी वारपार गर्ने व्यवस्था छ । बंशिलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बने पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।