विदेश पलायन राेक्न नगरले बाँड्दै छ किसानलाई भैँसी र बाख्रा

विदेश पलायन राेक्न नगरले बाँड्दै छ किसानलाई भैँसी र बाख्रा


खाेटाङ ।

खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिकाले नगरबासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ ।

निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब ३ करोड रुपैयाँ बराबरको बजेटसमेत विनियोजना गरेको छ ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकाका बासिन्दालाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरेको छ । ११ वडा रहेको यस नगरपालिकाले ४४ जना किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ वटा बोयर जातका बोका वितरण गरेको छ ।

किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले यसअघि दुई माउ भैँसी पालिरहेका किसानलाई थप १ माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाका संयोजक सन्देश ताम्राकारले जानकारी दिए ।

संयोजक ताम्राकारका अनुसार नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मंगलटार, महादेवस्थान र सल्लेमा २ माउ भैँसी पाल्ने किसान पहिचान गरी माउ भैँसी किन्न किसानलाई नै १–१ लाखका दरले नगद उपलब्ध गराइएको हो ।

नगरपालिकाको ससर्त अनुदानअन्तर्गत ७५ लाख बजेट ४४ जना किसानलाई भैँसी किन्न १–१ लाख र भैँसीलाई गोठ बनाउन प्रतिकिसान २०–२० हजार प्रदान गरिएको छ । ससर्त बजेटभित्रैबाट भैँसी पाएका किसानलाई दिने गरी १० लिटरको ४४ वटा मिल्क क्यान (दूध लगाउने भाँडा) खरिद गरिएको छ ।

किसानलाई वितरण गर्नकै लागि १३ वटा च्यापकटर मेसिन पनि नगरपालिकामा ल्याएर राखिएको जनाइएको छ । किसानले पालेका भैँसीबाट उत्पादित दूध संकलन गर्न ४ लाख बजेट दूध संकलन केन्द्रलाई छुट्याइएको नगरपालिकाले जनाएको छ ।

किसानले उत्पादन गरेका दूध त्रिधार्मिकस्थल हलेसी बजारमा घरभाडामा लिएर दूध संकलन केन्द्र स्थापना गरेर बिक्री गर्ने व्यवस्था मिलाइको जनाइएको छ । किसानले ल्याएका भैँसीमा कृत्रिम गर्भाधानसमेत गराएर उन्नत जातको पाडापाडी उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।

सोही ७५ लाख बजेटभित्रैबाट खानेपानीका लागि ३२ वटा हिलट्यांक ल्याएर नगरपालिकामा राखिएको जनाइएको छ । आवश्यकताअनुसार किसानलाई हिलट्यांक वितरण गरिने नगरपालिकाले जनाएको छ ।

वैदेशिक रोजगारमा गएका परिवार, स्वास्थ्यको अवस्था कमजोर भएको परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशु फार्म, कृषकको हकमा १५ माउभन्दा बढी बाख्रा भएका कृषकलाई बोयर जातको बोका वितरण गरिएको छ ।

बाहुनीडाँडामा ८, डिकुवामा ४, च्यास्मिटारमा ३, बडहरेमा ३, दुर्छिममा ७, मंगलटारमा ३, महादेवस्थानमा २, धितुङमा ४, अर्खौलेमा ४ र राजापानीमा ५ वटा बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

रोजगारीको खोजीमा विदेश जाने युवा जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको नगर प्रमुख विमला राईले बताइन् ।

‘रोजगारीको खोजीमा युवापुस्ता दिनानुदिन विदेशिने क्रम बढ्दो छ । युवा जमातलाई रोक्न नगरपालिकाको तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘हाम्रो नगरपालिकामा त्रिधार्मिक स्थल हलेसीसमेत छ । हलेसी आउने पर्यटकका लागि समेत धान्ने गरी दूध र मासुमा आत्मनिर्भर बनाउने गरी किसानलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको हो ।’

नगरपालिकाले कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसी क्षेत्रका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् ।

यसअघिदेखि नै व्यावसायिक रूपमा पशुपालन गर्दै आएका किसान नगरपालिकाले अनुदानमा भैँसी, बोका तथा बाख्रा उपलब्ध गराएसँगै उत्साहित बनेका छन् ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थलसमेत रहेको नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रमलाई निकै महत्वका साथ हेरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भिड लाग्ने त्रिर्धामिक स्थल हलेसीमा अहिले दूध र मासु अभाव देखिएको छ ।