बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै

बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै


नेपालगन्ज ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ ।

राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा-७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अगाडि बढेको छ ।

राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठुला ढुंगाको सहारामा नदी नियन्त्रणको काम सुरु भएको जनताको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताए । उनका अनुसार बोलपत्र आह्वान गरेर काम गर्ने समयावधि नभएका कारण उपभोक्ता समितिमार्फत काम गर्न लागिएको हो । कचनापुरको मधुवामा काम सुरु भइसकेको छ भने खल्लाझगडियामा उपभोक्ता समिति बन्ने क्रममा छ ।

‘तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठुला ढुंगाको सहारामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ,’ उनले भने, ‘मनसुन सुरु भइसकेकाले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो ।’

तटबन्ध निर्माण हुन नसके राप्ती नदीमा ठूलो बाढी आए गाउँतर्फ पस्ने सम्भावना थियो । तटबन्ध निर्माणकार्य गर्न लागिएको सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना)ले बताए ।

गत वर्ष राप्ती नदीमा आएको बाढीले मधुवाघाट र खल्लाझगडियामा तटबन्ध भत्काएको थियो । अहिले नदी नियन्त्रण हुन नसके बाढी गाउँतर्फ पस्ने ठुलो सम्भावना रहेकाले मनसुन सुरु भए पनि तटबन्धको काम गर्नुपरेको बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले बताए ।

स्थानीय विपद् व्यवस्थापन समितिको मागअनुसार कचनापुरको मधुवाघाट र खल्लाझगडिया टोलमा तटबन्ध निर्माणार्थ ढुंगा उत्खननका लागि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले अनुमति दिइसकेको छ ।