मनकामना इन्जिनियरिङ हाइड्रोको आइपिओ बिक्री खुला

मनकामना इन्जिनियरिङ हाइड्रोको आइपिओ बिक्री खुला


काठमाडौँ ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ मंगलबारदेखि बिक्री खुला भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको हो । यस कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको आइपिओ स्थानीय बासिन्दाका लागि जारी गरेको छ ।

जसअनुसार कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ । उक्त आइपिओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका-५, ६, ७ र ८ का बासिन्दाले आवेदन दिन सक्नेछन् । साथै, बिगु गाउँपालिका- ४ र कालिन्चोक गाउँपालिका-३ का बासिन्दाले पनि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन भएको छ । जसअनुसार प्रतिसेयर सय रुपैयाँ अंकित दरले २ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगार गरिरहेका नेपालीका लागि बिक्री खुला भएको हो ।

स्थानीय बसिन्दाले यस कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले यसमा साउन २ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने वैशाख २५ गतेभित्र आवेदन दिन पाउनेछन् । रेटिङ एजेन्सी केयर नेपालले यो आइपिओलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।

स्थानीय बासिन्दाले मनकामना इन्जिनियरिङको रजिस्टर्ड कार्यालय अनामनगर, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल छ ।