घरघरमा धारा पुगेसँगै एक गाग्री पानीकै लागि घन्टौँ कुर्नुपर्ने बाध्यता हट्यो

घरघरमा धारा पुगेसँगै एक गाग्री पानीकै लागि घन्टौँ कुर्नुपर्ने बाध्यता हट्यो


बागलुङ ।

‘एक गाग्री पानी भर्न २ घन्टा कुर्नुपथ्र्यो, अहिले यो गाउँका सबै घरमा धारा बनेका छन्, हाम्रो वर्षौँदेखिको समस्या समाधान भयो ।’

बागलुङ नगरपालिका–६ लमगाउँकी अनकली थापा अहिले ५० वर्षकी भइन् । उनले थाहा पाउने भएदेखि यो गाउँमा खानेपानीको हाहाकार थियो । जिल्ला सदरमुकाम नजिकैको गाउँ भए पनि लमगाउँमा खानेपानीको समस्या वर्षौँदेखि थियो ।

तर, यस वर्ष अनकलीलगायत गाउँका १४४ घरमा धारा बनेपछि स्थानीयबासी हर्षित छन् ।

बागलुङ नगरपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को लगानीमा अहिले गाउँमा लिफ्टमार्फत् खानेपानी वितरण थालिएको छ ।

लमगाउँमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ निर्माणपछि यसै सातादेखि धारामा पानी आउन थालेको छ । धारामा पानी आएपछि अब गाउँलेको दैनिकीमा परिवर्तन आउने अपेक्षा गरेको अनकलीले बताइन् ।

लामो समयदेखि सरोकारवाला निकायलाई खानेपानीको माग गरे पनि अहिले बल्ल पूरा भएको उनी बताउँछिन् ।

खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै यस क्षेत्रका स्थानीयबासीलाई ठुलो राहत पुगेको लमगाउँ लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष एकेन्द्र थापाले बताए ।

गाउँमा १४४ घरमा एक घर एक धारा र विद्यालयमा एउटा गरी १४५ धारा निर्माण गरिएको अध्यक्ष थापाले बताए । आयोजना ७२ लाख २६ हजार १४७ रुपैयाँमा सम्पन्न भएको उनको भनाइ छ ।

बागलुङ नगरपालिकाले विनयोजन गरेको १२ लाख १६ हजार, नेवाको ४६ लाख २ हजार ४२९ रुपैयाँ, स्थानीयबासीको नगद सहयोग ४ लाख ५१ हजार ४०० र स्थानीय जनश्रमदान ९ लाख ५६ हजार ३१४ रुपैयाँ खर्च भएको थापा बताउँछन् ।

यस आयोजनाबाट गाउँका ७१६ जना नागरिकले सेवा लिनेछन् । आयोजनाअन्तर्गत इन्टेक एक, पानी बाँड्ने पानी जम्मा गर्ने ४ वटा, स्थानीय समुदायमा १४४ र स्थानीय विद्यालयमा १ धारा निर्माण गरिएको छ ।

आयोजनाका निम्ति १० हजार ६९१ मिटर पोलिथिन पाइप र १६० मिटर जिआई पाइप जडान गरिएको अध्यक्ष थापाको भनाइ छ ।

‘अब गाउँमा कोही पनि नागरिकले पानी भर्न दुःख पाउनुपर्ने छैन, अहिलेसम्म जति समस्या भयो, त्यसलाई बिर्सिएर नयाँ खानेपानी आयोजनाको संरक्षण गर्ने र उपभोग गर्नुपर्छ,’ उनले भने, ‘गाउँका नागरिकको दैनिकीसमेत फेरिनेछ । पहिले खानेपानीकै लागि खर्च गर्ने समय अब उत्पादनमा लगाउनेछन् ।’

खेतीयोग्य भएर पनि सिँचाइ अभावमा बाँझो रहेका जमिनमा अब तरकारी फल्ने उनी बताउँछन् । बजारबाट तरकारी किनेर खानुपर्ने बाध्यताको पनि अन्त्य हुने उनको विश्वास छ ।

बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले लमगाउँका सयौँ नागरिक खानेपानीको समस्याबाट लामो समयदेखि पिल्सिएको हुँदा नगरपालिकाले खानेपानीको संकट रहेको गाउँमा ‘एक घर, एक धारा’ निर्माण गर्ने अभियानअन्तर्गत खानेपानीको मूल अभाव भएको स्थानमा लिफ्टमार्फत घर घरमै खानेपानी पुर्‍याएको बताए ।

खेतमा रहेका कुवा, मूल र सामुदायिक धाराकोे पानी प्रयोग गर्दै आएका स्थानीयबासीले लिफ्टमार्फत् घरमुनिको पानी तानेर घर–घरमा पुर्‍याइएको उनको भनाइ छ ।

‘विविध कारणले बजार भएर पनि यो ठाउँमा खानेपानीको व्यवस्थापन हुन सकेको थिएन । खानेपानी अभावमा स्थानीयबासीले अहिलेसम्म ठुलो अभाव झेल्दै आए, अब कसैले पानीको समस्या भयो भन्नुपर्ने छैन,’ नगर प्रमुख श्रेष्ठले भने ।

नगरभित्र खानेपानीको अभाव भएको क्षेत्रमा थप व्यवस्थापन गरेर जाने उनले बताए । लिफ्टमार्फत् खानेपानी पुर्‍याउँदा विद्युत् महसुल बढी लाग्ने भए पनि गण्डकी प्रदेश सरकारले छुट गरेका कारण अहिले सहज भएको श्रेष्ठको भनाइ छ ।

आगामी ५ वर्षभित्र बागलुङ नगरपालिकाको खानेपानी संकट क्षेत्रमा खानेपानी पुर्‍याउने लक्ष्य राखेको उनले बताए ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा)का गण्डकी प्रदेश प्रमुख रमेश दाहालले आफूहरूले सुगमदेखि दुरदराजका गाउँमा खानेपानीको समस्या समाधान गर्दै आएको भन्दै लमगाउँमा पनि त्यो समस्या लामो समयदेखि रहँदै आएको हुँदा नगरपालिकासँग सहकार्य गरेर समसाधान गरेको बताए ।

अव्यवस्थित रूपमा रहेको खानेपानीको मूललाई व्यवस्थित गरेर घर–घरमा धारा पुर्‍याइएको उनको भनाइ छ । आयोजनाका लागि नेवाले ४६ लाख २ हजार ४२९ रुपैयाँ लगानी गरेको छ ।

२०७९ साउन १६ गते सुरु भएको आयोजना २०८० असार १५ मा सम्पन्न भई घरघरका धारामा पानी वितरण गर्न थालिएको हो ।