लुम्बिनीमा ८११ किलोमिटर सडक कालोपत्र

लुम्बिनीमा ८११ किलोमिटर सडक कालोपत्र


लुम्बिनी ।

लुम्बिनी प्रदेशमा पछिल्लो ५ वर्षमा ८११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार १ हजार ६८ किलोमिटर सडक ग्राभेल र १ हजार ९६४ किलोमिटर सडक कच्ची छ ।

प्रदेश सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी सडक निर्माण, मर्मत र स्तरोन्नतिको काम अघि बढाएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । उनका अनुसार कृषि सडक, पर्यटनस्थल एवं उद्योगस्थल पहुँच मार्ग, सीमा क्षेत्र सडक कार्यक्रम, प्रदेश गौरवका सडक तथा प्रदेशका प्रमुख राजमार्ग निर्माण एवं स्तरोन्नतिबाट ग्रामीण–सहरी आबद्धता र कृषि उत्पादन तथा बजारीकरणमा टेवा पुगेको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सदरमुकाम पक्की सडक सञ्जालले जोडिएका मन्त्री मास्कीले बताए । लुम्बिनीमा हालसम्म कच्ची, ग्राभेल र कालोपत्र गरी ९ हजार ५९४ किलोमिटर सडक छ ।

८९ मोटरेबल पुल

लुम्बिनीमा पछिल्लो वर्ष ८९ मोटरेबल पुल निर्माण भएका छन् । त्यस्तै प्रदेशभर २६ झोलुंगे पुल निर्माण भएका छन् । चालु आवमा मात्रै १७ मोटरेवल पुल र ३ झोलुंगे पुल निर्माण भएका छन् ।

लुम्बिनीमा चालु आवमा २४८ मेगावाट विद्युत् उत्पादन भएको छ । प्रदेशमा ३ हजार मेगावाट विद्युत् उत्पादनको क्षमता रहेको मन्त्री मास्कीले बताए ।

त्यस्तै लुम्बिनीमा ९८.३२ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगिसकेकाे छ । रोल्पा र रुकुम पूर्व सबैभन्दा कम विद्युतीकरण भएका जिल्ला हुन् । लुम्बिनीमा परम्परागत ऊर्जाको प्रयोग गर्ने जनसंख्या ५६.४ प्रतिशत छ भने अन्य वैकल्पिक स्रोत प्रयोग गर्ने ४३.६ प्रतिशत छन् ।