जनतासँग गरेको बाचा पूरा गरेको छु : अध्यक्ष यादव

जनतासँग गरेको बाचा पूरा गरेको छु : अध्यक्ष यादव


सर्लाही ।

सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादव (बब्लु)ले आफूले कौडेनाका जनतासँग मत माग्ने बेलामा गरेको बाचा पूरा गरेको बताएका छन् ।

स्थानीय तहको चुनावमा जनतासँग मत माग्ने बेलामा आफू निर्वाचित भएको पहिलो वर्षमै पालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने बाचाअनुसार वडा–२ स्थित फुलपरासीमा १५ शय्याको सुविधा सम्पन्न अस्पतालको निर्माण सम्पन्न गरी आज उद्घाटन गर्न पाउँदा धेरै खुसी लागेको उनले बताए ।

कौडेनाबासीसँग मत माग्दा गरेका सबै बाचा आफ्नो कार्यकालमा पूरा गरिछाड्ने समेत उनले दाबी गरे । उक्त नवनिर्मित सामुदायिक अस्पताल सुचारु भएपछि कौडेनालगायत आसपासका अन्य पालिकाका जनता हर्षित भएको स्थानीय रामदुलार रायले बताए ।

सानोभन्दा सानो स्वास्थ्य समस्या आइपर्दा पनि कौडेनाबासीलाई सदरमुकाम मलंगवा अथवा रौतहटको गौरलगायत सहर जानुपर्ने बाध्यता थियो । सामुदायिक अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीय रघुवीर यादवले बताए ।

उक्त सामुदायिक अस्पतालको मंगलबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र खानेपानी तथा सरसफाइमन्त्री महिन्द्र राय यादवले संयुक्त रूपमा उदघाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले देशमा सुशासन र संघीय लोकतन्त्रको स्थायित्वका लागि गठन भएको गठबन्धनको सरकार ५ वर्षसम्मै चल्ने दाबी गरे ।

स्वास्थ्यमन्त्री बस्नेतले आफू पदमा रहेसम्म आर्थिक अभावका कारण कुनै पनि बिरामीको अकालमा ज्यान नजाने बताए । उपचार गराउन नसक्ने विपन्न बिरामीहरूको उपचारकाे जिम्मा सरकारले लिने बस्नेतले बताए ।

उद्घाटन कार्यक्रममा मधेस प्रदेशसभा सदस्य जंगीलाल राय, कौशलकिशोर राय, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कौडेना गाउँपालिका उपाध्यक्ष नगीना यादव, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र सिंह, नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला अध्यक्ष लक्ष्मण राय, प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव, विभिन्न राजनीतिक दलका नेता, गाउँपालिकाका कर्मचारी, स्थानीयबासीलगायतको उपस्थिति थियो ।