काम गर, सफलता मानिसको पछि–पछि आउँछ

काम गर, सफलता मानिसको पछि–पछि आउँछ


सिन्धुपाल्चोक,

गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् । वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उहाँ कृषि पेसामा आकर्षित हुनुभएको हो । विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकाल्नुभएका उहाँको गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् ।

लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उहाँ कृषि पेसामा आकर्षित भएको बताउनुहुन्छ । “आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?”, उहाँले भन्नुभयो । देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उहाँले विदेश जाने निधो गर्नुभयो । र, उहाँ मलेसिया हुइँकिनुभयो ।

उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुग्नुभएका उहाँ मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउनुहुन्छ । “मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु”, उहाँले भन्नुभयो । मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उहाँ त्यहाँबाट भागेर स्वदेश फर्किनुभयो । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उहाँको मनबाट हटेन । र, फेरि उहाँ कतार जानुभयो । कतारमा उहाँले विमानस्थलमै काम पाउनुभयो । तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उहाँ फेरि स्वदेश नै फर्किनुभयो । घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उहाँले विदेशी भूमिमै जाने निधो गर्नुभयो र दुबई जानुभयो । दुबईमा पेट्रोलपम्पमा काम पाउनुभयो । तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उहाँ फेरि स्वदेश नै फर्किनुभयो । विदेशी भूमिमा सात वर्ष समय बिताउनुभएका उहाँले विदेशबाट फर्कँदा जम्मा रु पाँच लाख लिएर फर्किनुभएको बताउनुहुन्छ ।

रु ७५ लाखको लगानी

गाईभैँसीपालनका लागि उहाँले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर रु ७५ लाखको लगानी रहेको बताउनुहुन्छ । दूध बोक्नलाई बोलेरोसमेत किन्नुभएका उहाँले लक्ष्मी बैंकबाट रु ६० लाख ऋण लिनुभएको बताउनुहुन्छ । “मैले लक्ष्मी बैंकबाट मात्रै रु ६० लाख ऋण लिएको छु । रु ३५ लाखको वस्तुमात्रै छन्”, उहाँले भन्नुभयो । सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उहाँ सुनाउनुहुन्छ ।

“सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो”, उहाँले भन्नुभयो । अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उहाँको हिम्मतले आज सफलता र खुसी बनाएको छ । विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक रु तीन लाख आम्दानी गर्नुहुन्छ । गाईवस्तुको आहारबाहेक उहाँको मासिक रु डेढ लाख बच्छ । “महिनामा रु तीन लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि”, उहाँले भन्नुभयो । उहाँ पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउनुहुन्छ । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उहाँ सुझाउनुहुन्छ । आफ्नै उत्पादन आफ्नै व्यापार राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उहाँ दूध बेच्ने पनि गर्नुहुन्छ । उहाँको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उहाँले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्नुहुन्छ । उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उहाँलाई छैन । दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उहाँको गाई फार्मबाटै उहाँलाई मनग्य दूध पुग्दछ ।

आफ्नै उत्पादित दूधबाट उहाँ पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउनुहुन्छ । जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष सङ्घर्ष गर्नुभएका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौँका गल्ली–गल्लीमा सङ्घर्ष गर्नुभएका उहाँ गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उहाँको मुहारमा खुसी छाएको हो । सुरुमा रु पाँच लाख लगानी गरेर कुखुरापालनसमेत गर्नुभएका उहाँ हतार र हतास गर्न नहुने बताउनुहुन्छ । उहाँ सफलता मानिसको पछि– पछि आउने गरेको बताउनुहुन्छ । “हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ”, उहाँले भन्नुभयो ।