नेपाल–कोरिया मैत्री नगर अस्पतालकाे छेउमा १५० शय्याकाे अर्काे अस्पताल बनाइँदै

नेपाल–कोरिया मैत्री नगर अस्पतालकाे छेउमा १५० शय्याकाे अर्काे अस्पताल बनाइँदै


काठमाडाैँ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन सरकार र दक्षिण कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख (एक अर्ब २५ करोड ४० लाख रुपैयाँ) लगानी गरिने भएको छ ।

आगामी ५ वर्ष (सन् २०२७ सम्म)मा पूरा गरिसक्ने लक्ष्य रहेको सो परियोजनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य एवं समन्वयमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), मध्यपुर थिमि नगरपालिका र उक्त अस्पतालले संयुक्त रूपमा निर्माण गर्ने भएका हुन् ।

सम्झौताअनुसार नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा एक सय ५० शय्याको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासका काम गरिने जनाइएको छ ।

हस्ताक्षर कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने यस साझेदारीका लागि कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गरे । यो परियोजनालाई सफल रूपमा कार्यान्वयनमा ल्याउन सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले बताए ।

नेपालका लागि कोरियाली राजदूत पार्क, ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताउँदै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताए । द्विपक्षीय कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ मनाउन कोरिया इच्छुक रहेको पनि उनको भनाइ थियो ।

अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले कोरियाली सरकार नेपालको महत्वपूर्ण विकास साझेदार रहेको बताए । कोइकाका निर्देशक कोङ मुहओनले कोइका नेपालका विभिन्न स्वास्थ्य परियोजना कार्यान्वयनमा सक्रिय रहेको र हरेक परियोजनाले विशिष्ट उपलब्धि हासिल गरिरहेको बताए ।

अस्पतालको दोस्रो चरणको सेवाले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिकरूपमा कमजोर नागरिकका लागि विशिष्टिकृत स्वास्थ्यसेवामा पहुँच पुर्‍याइने जानकारी उनले दिए ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कोइका र उक्त अस्पतालका प्रतिनिधिको उपस्थिति थियो । परियोजनाअन्तर्गत गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र स्वास्थ्य क्षेत्र सुधारका लागि पूर्वाधार तयार गर्ने तथा कर्मचारीको क्षमता अभिवृद्धि गरिने जनाइएको छ ।