जथाभावी फाेहाेर फाल्नेसँग १५ लाख असुल्याे वीरगन्ज महानगरले

जथाभावी फाेहाेर फाल्नेसँग १५ लाख असुल्याे वीरगन्ज महानगरले


वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र जथाभावी फोहोर फ्याक्नेसँग जरिमानाबापत राजस्व संकलन गर्ने अभियान थालेको छ ।

जथाभावी फोहोर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले २०७९ पुस १७ देखि जथाभावी फोहोर फ्याँक्नेबाट जरिमाना तिराउन थालेको हो ।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहोर फाल्ने व्यक्ति तथा संस्था गरी ५७० जनाबाट जरिमानाबापत १४ लाख ९५ हजार २०५ रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए ।

स्वच्छ, सफा र सुन्दर महानगर बनाउने उद्देश्यले महानगरले गत पुसदेखि जथाभावी फोहोर फ्याक्नेसँग जरिमानाबापत राजस्व संकलन अभियान थालेयता नियमित राजस्व संकलन गर्दै आएको उनले बताए ।

‘घर, पसल र कार्यालयबाट निष्किने फोहोर जताततै फ्याक्ने स्थानीयको प्रवृति छ’, प्रमुख मियाँले भने, ‘त्यस्तो प्रवृतिलाई निरुत्साहित गर्न हामीले फोहोर फ्याँक्नेलाई जरिमाना गर्ने अभियान सुरु गरेका छौँ ।’

यस अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दासमेत चलाउने योजना बनाइएको उनले जानकारी दिए ।

प्रमुख मियाँका अनुसार महानगरले निजी संस्थासँग सहकार्य गरी ३२ वटै वडाभित्र तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिकाले वीरगन्जस्थित पृथी तारा एमके इनरनेसनल जेभीसँग २०७६ जेठ २ मा सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको उनको भनाइ थियो ।

‘महानगर प्रमुखको योजना अनुरुप सफा र सुन्दर वीरगन्ज नगरबासीलाई दिने गरी काम गरिरहेका छौँ’, प्रमुख मियाँले भने, ‘उक्त योजनाअनुसार अहिले बिहान, दिउँसो र राति गरी ३ चरणमा नाला तथा सडक सरसफाइ भइरहेको छ ।’

उनका अनुसार नालाको सफाइ महानगरले गरिरहेको छ भने सडकको सफाइ साझेदार संस्था पृथी ताराले गरिरहेको छ ।

‘पहिला महानगरसँग नाला सफाइ गर्न लागि एउटा ‘जेटिङ मेसिन’ र एउटा ‘सक्सन मेसिन’ थियो’, शाखा प्रमुख मियाँले भने, ‘अहिले थप एउटा/एउटा मेसिन खरिद गरी नाला सरसफाइ अभियानलाई तीव्रता दिएका छौँ ।’ साइरण जडित ट्याक्टर फोहोरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएको उनको भनाइ थियो ।

विगतमा महानगरसँग डम्पिङ साइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या भएको जनाउँदै प्रमुख मियाँले ४ वर्षअघि डम्पिङ साइड निर्माण गरेपछि फोहोरमैला व्यवस्थापनमा कुनै समस्या नरहेको बताए ।