२ वटा पुल भाँचिएपछि बेँसीसहर–चामे सडक अवरुद्ध

२ वटा पुल भाँचिएपछि बेँसीसहर–चामे सडक अवरुद्ध


लमजुङ ।

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो ।

बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल आजदेखि निर्माण गरिँदै छ । सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा २ दिनसम्म अवरुद्ध हुने उनले बताए ।

अधिकारीका अनुसार उक्त स्थानमा २ वर्षअघि काठे पुल निर्माण गरिएको हो । पुल जीर्ण भएपछ पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको हो । पुल निर्माणका लागि मंगलबारबाटै रूख काट्ने, पुलका लागि फलेक बनाउनेलगायत काम भइरहेको इन्जिनियर अधिकारीले बताए ।

मनाङलाई सडक सञ्जालसित जोड्ने सरकारको योजनाअनुरुप २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो ।

नेपाली सेना २०५७ सालदेखि उक्त सडक निर्माणमा सहभागी भएको हो । २०६९ सालमा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो ।

तत्कालीन कार्य गणका इन्जिनियर भरत श्रेष्ठ र इन्द्रिबर गुरुङको नेतृत्वमा सडक निर्माण सम्पन्न भएको हो । उक्त सडकखण्डको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर छ । सडक जीर्ण तथा बन्द हुँदा मनाङबासी बढी प्रभावित हुने गरेका छन् ।