अढाई कराेडमा बनाएकाे पुल १ वर्ष पनि नपुग्दै बाढीले बगायाे, चाेरी हुने डरले सामान सुरक्षित स्थानमा राखिँदै

अढाई कराेडमा बनाएकाे पुल १ वर्ष पनि नपुग्दै बाढीले बगायाे, चाेरी हुने डरले सामान सुरक्षित स्थानमा राखिँदै


कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडाएको झोलुंगे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ ।

गत वर्षको बाढीले चुँडाएको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो ।

अविरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा ब्यापक कटान भइरहेको छ । जग्गा कटान हुँदा पोल ढलेर नदीमा खसेको छ ।

पुलका सामान हटाएर सुरक्षित स्थानमा राख्न थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताए । पुलको सामान चोरी हुन सक्ने भएकाले सुरक्षित स्थानमा राख्न थालिएको उनको भनाइ छ ।

‘पुल खोल्नका लागि मजदुरको ज्याला र ढुवानी खर्च नगरपालिकाले बेहोर्ने आश्वासन दिएको छ,’ वडाध्यक्ष रानाले भने।

निर्माण भएको १ वर्ष नपुग्दै बाढीका कारण गत वर्ष पुल चुँडिएर नदीमा खसेको थियो । पुल ढलेपछि स्थानीयले नदी तर्न सास्ती खेप्दै आएका छन् ।

विद्यार्थी र बिरामीलाई यसबाट बढी समस्या भएको छ । ‘नदीमा ढलेको पुल हटाउन १ वर्ष कुर्नुपर्‍यो,’ स्थानीय लक्ष्मण रानाले भने, ‘नयाँ पुल निर्माणको माग गरेका छौँ, सुनुवाइ भएको छैन ।’

२ करोड ५० लाख रुपैयाँ लागतमा उक्त पुल निर्माण गरिएको थियाे ।