पालिकाका कर्मचारीकाे तलबबाट अस्पताललाई थाइराइड मेसिन

पालिकाका कर्मचारीकाे तलबबाट अस्पताललाई थाइराइड मेसिन


आँबुखैरेनी ।
आँबुखैरेनी गाउँपालिका मातहत कार्यरत कर्मचारीले आँबुखैरेनी अस्पताललाई १० लाख रुपैयाँभन्दा बढी मूल्यको थाइराइड मेसिन प्रदान गरेका छन् ।
गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीले खाईपाई आएको पारिश्रमिकबाट थाइराइड मेसिन खरिद गरी उक्त अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकामा दरबन्दी र करारका गरी १३५ जना कार्यरत कर्मचारीको पारिश्रमिकबाट मेसिन खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
गत जेठ ३१ गते बसेको कर्मचारीको बैठकले कर्मचारीको पारिश्रमिकबाट मेसिन खरिद गरी अस्पताललाई प्रदान गर्ने विषयमा सर्वसम्मत निर्णय भएपछि सहयोग गरेको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत शर्मालगायत कर्मचारीले गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा धनबहादुर क्षेत्रीलाई उक्त मेसिन हस्तान्तरण गरे ।
अस्पतालमा थाइराइड परीक्षण गर्ने मेसिन नहुँदा थाइराइडका बिरामी उपचारका लागि अन्यत्र धाउनु परेकाले मेसिन आएपश्चात् सहज हुने विश्वास गाउँपालिकाले गरेको छ ।
गाउँपालिकाभित्र धेरै थाइराइडका बिरामी रहेकाले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेपछि कर्मचारीले मिलेर मेसिन खरिद गरी अस्पताललाई दिएपछि उपचारमा सहज भएको छ ।
गाउँपालिकाभित्रका नागरिकले सहज रूपमा घरदैलोमा सेवा पाउने हुँदा सबै कर्मचारीको सकारात्मक सहयोगबाट मेसिन खरिद सहज भएकाे उनले बताए ।
कार्यालय सहयोगी, सुरक्षा गार्ड, सरसफाइ क्षेत्रमा कार्यरत सहयोगी कर्मचारीलाई यस अभियानमा सहयोग गर्न अनिवार्य नगरिए पनि स्वस्फुर्त आफूले सकेको आर्थिक सहयोग गरेका थिए ।
उक्त अभियानलाई सफल बनाउन अहोरात्र खटिने कर्मचारीप्रति प्रमुख प्रशासकीय अधिकृत शर्माले धन्यवादसमेत व्यक्त गरे ।
उक्त कार्यका लागि गाउँपालिका मातहतका सबै कर्मचारीले तहअनुसारको तलबबाट सहयोग रकम कट्टा गरी अस्पताललाई मेसिन प्रदान गरेर उदाहरणीय कार्य प्रस्तुत गरेको गाउँपालिकाका अध्यक्ष चुमानले बताए ।
गाउँपालिकामा कार्यरत कर्मचारीले आफ्नै पारिश्रमिकबाट अस्पतालका लागि थाइराइड मेसिन खरिद गरी हस्तान्तरण गरेपछि स्वास्थ्य सेवामा सहज हुने अपेक्षा गरिएको उनले बताए ।