५ करोड ३२ लाख खर्चेर वडा कार्यालय भवन बनाउँदै पाेखरा

५ करोड ३२ लाख खर्चेर वडा कार्यालय भवन बनाउँदै पाेखरा


पाेखरा ।
पोखरा महानगरका ३३ वडामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको वडा-१७ मा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिने भएको छ ।
उपत्यका नगर विकास समितिको ड्यामसाइडस्थित ५ रोपनी जग्गामा  महानगरको ५ करोड ३२ लाख ५४ हजार रुपैयाँ लागतमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिद्वारा सो भवन निर्माण गर्न सम्झौता गरिएको थियो ।
महानगरप्रमुख धनराज आचार्यले निर्माणाधीन भवन शिलान्यास गर्दै पोखराको समग्र विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
उनले आगामी ४ वर्षको अवधिमा महानगरको प्रमुख प्रशासकीय भवनका साथै सबै वडाका कार्यालयमा सुविधा सम्पन्न भवन निर्माण गरी जनतालाई सर्वसुलभ एवं छिटोछरितो सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।
‘तोकिएको समयमा निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्न पनि महानगर पछि पर्दैन,’ महानगर प्रमुख आचार्यले भने, ‘पोखराको विकासमा सबैले सत्यतथ्य र सकारात्मक सोचका साथ सहयोग गरिदिन हुन आग्रह गर्दछु ।’
उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका उनले सोही स्थानको करिब ४२ रोपनी जग्गामा १ अर्क ५२ करोड रुपैयाँ लागतमा महानगरको प्रमुख प्रशासकीय भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।
उपप्रमुख मञ्जुदेवी गुरुङले भवन निर्माणसँगै वडावासीलाई सेवा प्रवाहमा थप सुविधा पुग्ने विश्वास व्यक्त गरिन् । विकास निर्माणका सम्बन्धमा सबैको चासो रहनुपर्नेमा उनको जोड थियो ।
वडाध्यक्ष राधिका शाही योगी वडा-२ का वडाध्यक्ष दिवसमान प्रधानांग, वडा सदस्य तारा सेवालगायतले सेवा प्रवाहमा भौतिक संरचनाले सहयोग पुर्‍याउनेबारे चर्चा गरे ।