सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज

सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज


ताप्लेजुङ ।
आठराई त्रिवेणी गाउँपालिकाले गाउँका सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ ।
आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य परामर्शसहित पोषणयुक्त खानेकुराको प्याकेज वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।
सुत्केरी र बच्चाको स्वास्थ्य सुरक्षा सुनिश्चिताका लागि गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी आमा–स्वास्थ्य, सरसफाइका साथै पोषिलो खाना’ कार्यक्रम बनाएरै कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले बताए ।
गाउँपालिकाका विभिन्न वडा तथा टोलमा पुगेर सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज प्रदान गरिरहेको गाउँपालिका उपाध्यक्ष शान्ता आङ्बुहाङले जानकारी दिइन् । उनका अनुसार विभिन्न वडाका गरी २०० भन्दा बढी सुत्केरीलाई उक्त प्याकेज वितरण गरिसकिएको छ । बाँकी रहेकालाई समेत वितरण गर्ने कार्यक्रम जारी राखिएको छ ।
खाद्य प्याकेजमा स्थानीय स्तरमा पाइने घिउ, सिमी, अन्डा, चना, मटरलगायत खानेकुरा, साबुनसहितका ९ प्रकारका सामग्रीसहितको झोला वितरण भइरहेको आङ्बुहाङले बताइन् ।
उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाई निरन्तरता दिन आगामी आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ ।
आगामी आवदेखि सुत्केरी भएको १ महिनाभित्रै सुत्केरी महिलालाई उक्त प्याकेज पुर्‍याउने योजना छ । उक्त प्याकेज वितरणका लागि जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीसमेत खट्दै आएका छन् ।
सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्शसमेत दिने गरिएको बताइएको छ । सकेसम्म घर–घरमै पुग्ने र अनुकूल नभए टोल–टोलमा भेला गराई वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।