आजदेखि बिजलपुरासम्मै आउनेछ रेल

आजदेखि बिजलपुरासम्मै आउनेछ रेल


बर्दिबास ।

भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भंगाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको शुभारम्भ गर्नेछन् ।

जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर दुरीमा सञ्चालन हुनेछ ।

दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ ।

१७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज २ सेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएका थिए । सुरुमा एक पटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मंसिरदेखि दुवै रेल दिनको २ पटक आउने र जाने गरी सेवा दिइरहेको छ ।

सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल ३ पटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताए । यद्यपि भंगाहा स्टेसनले भने दिनको एक पटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ ।