१ महिनापछि भेटियो सुपर हेवा हाइड्रोमा कार्यरत मजदुरको शव

१ महिनापछि भेटियो सुपर हेवा हाइड्रोमा कार्यरत मजदुरको शव


संखुवासभा ।

संखुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ ।

बाढीमा परेर बेपत्ता भएको १ महिनापछि एउटा शव फेला परेको हो । आज बिहान चैनपुर नगरपालिका–४ मा १ पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसकेको संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए ।

बाढीपहिरामा परेका अन्य १८ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो ।

पहिरोमा पुरिएका वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र तालिम प्राप्त कुकुर कुकुर लगाएर खोजी गर्दासमेत शव फेला पार्ने सकेको छैन ।

बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराेबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घरमा पूर्ण क्षति पुगेको छ ।

बाढीले बगाउँदा ठुलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले ३ वटा पक्की पुलमा क्षति पुर्‍याएको छ । बाढीका कारण करोडौँकाे भौतिक संरचनामा क्षति पुगेको छ ।