बैतडीका स्थानीय तहमा ८७ कराेड बजेट फ्रिज

बैतडीका स्थानीय तहमा ८७ कराेड बजेट फ्रिज


बैतडी ।

जिल्लाका स्थानीय तहले चालु आर्थिक वर्षमा ८७ करोड रुपैयाँभन्दा बढी बजेट खर्च गर्न नसकेको पाइएको छ।

जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर ८७ करोड २३ लाख १४ हजार बजेट खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताए।

यहाँका सबै स्थानीय तहमा चालु आर्थिक वर्षका लागि ५ अर्ब ६९ करोड १६ लाख ८१ हजार रुपैयाँ बजेट आएको थियो। सबैभन्दा बढी मेलौली नगरपालिकाबाट चालु र पुँजीगत दुवै गरेर १३ करोड ३२ लाख २६ हजार रुपैयाँ बजेट खर्च गर्न हुन सकेन।

उक्त नगरपालिकाबाट ६० करोड ४० लाख ७८ हजारमध्ये ४७ करोड आठ लाख ५२ हजार रुपैयाँ बजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

सिगास गाउँपालिकाबाट ५० करोड २० लाख ९३ हजार बजेटमध्ये आठ करोड ७१ लाख छ हजार रुपैयाँ खर्च हुन नसकेको उक्त कार्यालयले जनाएको छ। सिगासले ४१ करोड ४९ लाख ८७ हजार रुपैयाँ रकम मात्रै खर्च गरेको छ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले ६७ करोड ६४ लाख २६ हजार बजेटमध्ये ५८ करोड ९३ लाख चार हजार रुपैयाँ खर्च गरेको छ। उक्त नगरपालिकाले आठ करोड ७१ लाख २२ हजार रुपैयाँ खर्च गर्न बाँकी देखिएको छ।

पाटन नगरपालिकाबाट ७४ करोड १६ लाख ४१ हजारमध्ये ६१ करोड ५८ लाख ५२ हजार रुपैयाँ मात्रै खर्च गरेको देखिएको छ। उक्त नगरपालिकाले १२ करोड ५७ लाख ८९ हजार रुपैयाँ खर्च गर्न बाँकी रहेको छ।

यसैगरी पुर्चौंडी नगरपालिकाबाट ७१ करोड ६३ लाख ९६ हजार बजेटमध्ये ६२ करोड ८६ लाख ३४ हजार रुपैयाँ मात्रै खर्च भएको छ। उक्त नगरपालिकाले आठ करोड ७७ लाख ६२ हजार रुपैयाँ खर्च गर्न बाँकी देखिएको छ।

डिलासैनी गाउँपालिकाले पनि ५२ करोड ३६ लाख १६ हजार बजेटमध्ये ४४ करोड ४४ लाख १६ हजार मात्रै खर्च गरेको र सात करोड ९२ लाख रुपैयाँ खर्च गर्न बाँकी रहेको छ।

दोगडाकेदार गाउँपालिकाले ५५ करोड ६९ लाख ६० हजार बजेटमध्ये ४७ करोड ९२ लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ। उक्त गाउँपालिकाबाट सात करोड ७७ लाख छ हजार रुपैयाँ खर्च बाँकी रहेको छ।

पञ्चेश्वर गाउँपालिकाको ४७ करोड ३९ लाख ५८ हजार बजेटमध्ये ३९ करोड ३९ लाख २९ हजार रुपैयाँ खर्च भएको र आठ करोड २९ हजार रुपैयाँ खर्च गर्न बाँकी रहेको हो। शिवनाथ गाउँपालिकाको ४० करोड ४२ लाख ३२ हजारमध्ये ३४ करोड १८ लाख ६२ हजार रुपैयाँ खर्च भएको र छ करोड २३ लाख ७० हजार रुपैयाँ खर्च गर्न बाँकी देखिएको छ।

सुर्नया गाउँपालिकाको ४९ करोड २२ लाख ८१ हजार रुपैयाँ बजेटमध्ये ४४ करोड दुई लाख ७७ हजार रुपैयाँ खर्च भएको र पाँच करोड २० लाख चार हजार रुपैयाँ खर्च गर्न बाँकी रहेको छ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण समयमै योजना सम्पन्न नहुने गरेकाले बजेट खर्च कम हुने गरेको दोगडाकेदार-३ श्रीकोटका हेमराज गिरीले बताए।

समयमै योजनाका काम सम्पन्न नहुने तथा असारमा आएर योजना सम्पन्न गर्ने र भुक्तानीको काम हुने गरेका छन्। उनले भने, ‘पालिकामा कर्मचारी सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण विवाद भएर काम नहुँदा पनि बजेट कम खर्च हुने गरेको छ।’ रासस