बाढीले पुल बगाएकाे ठाउँमा बेलिब्रिज बनेपछि खुल्याे मेची राजमार्ग

बाढीले पुल बगाएकाे ठाउँमा बेलिब्रिज बनेपछि खुल्याे मेची राजमार्ग


पाँचथर ।
बाढीले पुल बगाएपछि अवरुद्ध भएको मेची राजमार्ग १ महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो ।
यही असार २ गते आएकाे बाढीले हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिराेले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद भएको थियो ।
लामो समय मेची राजमार्ग अवरुद्ध ह्दाँ ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जान समस्या हुँदै आएको थियो । ताप्लेजुङबाट पाँचथरको जिल्लाको हेवाखोलासम्म वारि मात्र गाडी पुग्थ्यो । वारिबाट तुइन र फड्के पुल तरेर खोलापारि पुगेर अर्को गाडी खोजेर अन्य जिल्ला जानुपर्ने बाध्यता थियो ।
ताप्लेजुङमा आवश्यक दैनिक सामग्री ढुवानी हुन नसक्दा खाना पकाउने ग्यास, पेट्रोलिय पर्दाथलगायत आवश्यक खाद्य पदार्थको अभाव झेल्नुपरेको थियो । सवारीसाधनको आवागमन नहुँदा ताप्लेजुङ जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन गर्न आउने तीर्थयात्री प्रभावित हुँदै आएका थिए ।
वैकल्पिक रूपमा हेवा खोलामा तुइन, फड्के तथा अस्थायी डाइभर्सन पुल सञ्चालन गरी सवारीसाधनको सहज आवतजावत भइरहेकामा आइतबार साँझदेखि बेलिब्रिज सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी गौरव ढुंगेलले बताए ।
बेलिब्रिजबाट आज साना सवारीसाधनलाई प्राथमिकतामा राखी पुल पार गराइएको थियो । विस्तारै ठुला सवारीसाधन सञ्चालन गरिने भएको हुँदा अनावश्यक रूपमा सडक जाम नगरिदिन जिल्ला प्रहरी कार्यालय पाँचथरले आग्रहसमेत गरेको छ ।
प्रहरीका अनुसार पुलबाट एकतर्फी मात्र सवारी आवतजावत हुने हुँदा पालैपालो एकतर्फी र एकपटकमा एउटा मात्र सवारीसाधन आवतजावत गरी पुलको प्रयोग हुनेछ ।
पुलको किनारमा सुरक्षा जोखिम रहेको हुँदा पैदल भई सो पुलको प्रयोग गर्दा विशेष ध्यान पुर्‍याउन र बालबालिका तथा वृद्धलाई एक्लै सो पुलको प्रयोग गर्न नदिन जिल्ला प्रशासन कार्यालय पाँचथरले आग्रह गरेको छ ।
बेलिब्रिजमा तोकिएको भारवहन क्षमता (२५ टनसम्म) भन्दा बढी भारवहन गरी ढुवानी गर्न नमिल्ने भएको हुँदा तोकिएको भारवहन भएको सवारी मात्र आवतजावत र ढुवानी गर्न सकिने पाँचथरमा रहेको साम्दिन आर्मी क्याम्पका सहायक सेनानी मेखविक्रम राईले बताए ।