लुम्बिनी केबलकारको ‘मर्निङ अफर’मा आधा छुट

लुम्बिनी केबलकारको ‘मर्निङ अफर’मा आधा छुट


लुम्बिनी ।

लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ ।

साउनको पहिलो बुधबारदेखि लागू हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयाँ छ । अब नेपाली नागरिकले हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउनेछन् भने भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।

यो अफरले आमसर्वसाधारणलाई समेत निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । सोबाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ ।

लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यावसायिक सञ्चालनमा छ । केबलकारको टप स्टेसनमा बनेको कामख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ ।

मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटक आउने क्रम बढ्दाे रहेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।

टप स्टेसनमा सय वर्ष पुरानो भगवती मन्दिर, महादेव शिवको वाहन नन्दी, वर पिपल चौतारी, पोखरीलगायत धार्मिक संरचना छन् । साउन महिनामा टप स्टेसनमा जलार्पण गर्ने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ ।

केबलकारले बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई ५० प्रतिशतका दरले बाँडफाँट गर्ने गरी टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत दिने सम्झौता गरेको छ ।