विदेशकाे दुःख सम्झेर नेपालमै पशुपालन : मासिक साढे ३ लाखभन्दा बढीकाे दूध बिक्री

विदेशकाे दुःख सम्झेर नेपालमै पशुपालन : मासिक साढे ३ लाखभन्दा बढीकाे दूध बिक्री


नेपालगन्ज ।

बाँकेका शशिराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतीक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ ।

बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशिरामले तयार पारी राखेको २५ लिटर जति दूधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ । यो क्रम विगत ५ वर्षदेखि उनको घरमा चल्दै आएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१३ खडकवारका शशिराम १० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक रुपमा पशु व्यवसायी बनेका छन् । गुर्वाकोटी पशुपालन फार्म र अमृत पशुपालन फार्म गरी २ फार्म दर्ता गराएर पशु व्यवसायी बनेका उनलाई हिजोआज भ्याइनभ्याइ छ ।

बाउबाजेले गर्दै आएको कामलाई व्यावसायिक रूपमा नै गर्न सुरु गरेका शशिरामको फार्ममा अहिले ‘होलस्टेन क्रस’ प्रजातिका ७ वटा गाई छन् । सुरुमा २ गाईबाट व्यवसाय गरेका शशिरामले दूधबाट फाइदा हुन थालेपछि गाईको संख्या बढाएको बताए । ‘व्यवसाय सानैबाट गर्नुपर्छ भन्ने जानेर सुरुमा दुई गाई पालेँ । त्यसबाट चित्त बुझ्दो भएपछि पाँच वटा गाई थपेको हुँ ।’ उनले भने ।

अरु व्यवसाय गर्नलाई पढाइलेखाइ कम भएकै कारण पशु पालन सानैबाट गर्दै आएकाले यही पेशालाई अंगालेको उनले बताए । गाईलाई दानापानीमै मासिक ५० हजारको हाराहारीमा खर्च लाग्ने भएकाले आम्दानी ९० हजार भए पनि नाफा भने जम्मा ३० देखि ४० हजारसम्म हुने उनको भनाइ छ ।

सोचेजस्तो मनग्य फाइदा नहुँदा पनि यही पेसा नै गर्न मन लाग्ने उनले बताए । ‘हामीले उत्पादन गरेको दूधको खरिद मूल्य जम्मा ६४ रुपैयाँ हुने अनि बजार भाउअनुसार उपभोक्ताले बिक्री गर्ने मूल्य सयदेखि १२० सम्म हुँदा पनि गर्न मन लाग्नु भनेको एक प्रकारको बाध्यता पनि हो,’ उनले भने, ‘पढाइलेखाइ धेरै र हातमा अरू नै सीप भएको भए खासै चित्त नबुझ्दो नाफा हुँदा पनि चित्त बुझाएर बस्दिनथेँ ।’

शशिरामले झैँ दूध बेचेरै घरखर्च चलाउँदै आएका छन् राम सुहवन यादवले पनि । उनले पनि पुर्खाले गर्दै आएको पशु पालनलाई व्यावसायिक रूपमा अघि बढाउन ‘यादव भैँसीपालन फार्म’ दर्ता गराएका छन् ।

२० लाख खर्च गरेर बनाएको राम सुहवनले उक्त फार्ममा हिजोआज १३० वटा भैँसी पालेका छन् । उनको फार्ममा तीमध्ये हिजोआजको यो समयमा ३५ वटा भैँसीले दूध दिन्छन् भने बाँकी भैँसी ब्याउने चरणमा छन् ।

बाँकेका ३ ठाउँमा दैनिक १२ लिटरको हाराहारीमा राम सुहवनले दूध संकलनका लागि पठाउने गर्छन् । त्यसरी दूध संकलन गर्ने दूध डेरीअन्तर्गत साइबाबा दूध डेरी, एस के दूध डेरी र डिडिसी दूध डेरी छन् ।

खर्च र आम्दानी ठ्याक्कै भन्न नसकेका राम सुहवनले मासिक नाफा भने ५० देखि ६० हजारसम्म हुने गरेको बताए । सरकारले ल्याएको पशु बिमाअन्तर्गत उनले पनि बिमा गराएको बताएको तर पशु मृत्युपछि भने बिमाको रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो भएको हुनाले गत वर्षदेखि बिमा गर्न छाडेको उनले बताए ।

‘बिमा गराउनुभन्दा बिमा रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो रहेछ,’ उनले भने, ‘हामी किसानलाई बिमा रकमका लागि दिनैभरि अफिसमा बस्ने कहाँ फुर्सद ? हामीले त गत वर्षदेखि नै बिमा गराउन छाडेका छौँ ।’

शशिराम र राम सुहवनजस्तै व्यावसायिक पशुपालन गरेर विगत ७ वर्षदेखि दूध बेच्दै आएका छन्- बर्दियाका गोविन्द उपाध्यायले पनि । १५ वटा गाईबाट व्यवसाय गर्न सुरु गरेका उनले अहिले ४४ गाईको रेखदेख गर्दै आइरहेका छन् ।

२०७३ सालमा एकता पशुपालन फार्म दर्ता गराएर उनले व्यावसायिक रूपमा नै पशुपालन गर्दै आएका छन् । निर्जीवन बिमा कम्पनीमा कार्यरत ४४ वर्षीय उनले कृषिमा पनि केही गर्न सकिन्छ र युवाले नै कृषि पेसालाई अँगालेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले आफूले गाईपालन गर्न सुरु गरेको बताए ।

जर्सी र होलस्टेन क्रस प्रजातिका गाईबाट उनले प्रत्येक दिन २३० देखि २३५ लिटरसम्मको दूध उत्पादन गर्छन् । किसानबाट उपभोक्तासम्म ३० देखि ४० रुपैयाँको फरक पर्दा पनि भोलिका दिनमा दर बढ्ने आशामा आफूले फार्म सञ्चालन गरेको उनको भनाइ छ ।

आफ्नै जग्गामा फार्म सञ्चालन गर्दै आएका गोविन्दको मासिक खर्च ३ लाखको हाराहारीमा हुन्छ भने आम्दानी ३ लाख ७० हजार हुने गर्छ । दूधबाट उनलाई पनि सरदरमा मासिक ४०/४५ हजारको नाफा हुने गर्छ । ५ जना कामदार राखेर फार्म सञ्चालन गर्दै आएका गोविन्दले पशुपालन किसानको मर्कालाई बुझेर उत्पादनमा अनुदानको व्यवस्थालाई कार्यान्वयनमा ल्याइदिन सरकारलाई आग्रह गरेका छन् ।

किसानद्वारा उत्पादित दूध संकलन गरेर आत्मनिर्भर बनाउनमा निकै ठुलो सहयोग गरेको छ- ‘एसके डेरी इन्डस्ट्रिज प्राइभेट लिमिटेड’ बाँकेले । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२२ को पुरैनीमा रहेको उक्त दूध डेरीमा बाँके र बर्दियाका गरी ५ हजार किसानले दूध संकलन गर्ने गर्छन् ।

प्रालिका प्रोडक्सन इन्चार्ज सन्तोष पौडेलका अनुसार २०७६ सालदेखि उक्त उद्योगले किसानका दूधलाई संकलन गर्दै आएको छ । सो प्रालिमा ३२ जना कर्मचारी कार्यरत छन् । उनका अनुसार किसानबाट संकलित दूधलाई चिसो बनाएर प्रयोगशालामा परीक्षण गर्दै परामिटरले परीक्षण गरेर दूधको ‘फ्याट’ निकाल्ने गरिन्छ ।

फ्याटबाट निकालिएको दूधलाई -४५ डिग्रीमा राखिएपछि उक्त दूधबाट आइसक्रिम, केक, पनिरलगायत अन्य दूधबाट बनिने सबै परिकार बनाएर बजारमा पठाइने उनले बताए ।

‘हामीले किसानबाट संकलन गरेकाे दूधलाई -४५ डिग्रीको चिसो तापक्रममा राखेर दूधका विभिन्न परिकार बनाएर बजारमा पठाउँछौँ,’ उनले भने, ‘हामीकहाँ राम्रो भोल्टेजका कारण प्याकिङ गरेर राखिएका सामान बिग्रने सम्भावना हुँदैन । हामीले गुणस्तरलाई बढी ध्यान दिएका छौँ ।’

प्रालिका उत्पादन प्रमुख पौडेलका अनुसार प्रत्येक दिन किसानबाट १ हजार ५०० लिटर दूध संकलन गरेर ५०० लिटर पनिर, १ हजार लिटर दही, २०० लिटर दूधको आइसक्रिम बनाइन्छ ।

यसरी बनाइएका परिकार बाँकेमा मात्र नभई बर्दिया, दाङ, सुर्खेत, जुम्लादेखि काठमाडौँसम्म जाने गर्छ । साढे ५ कट्ठा क्षेत्रफलमा निर्मित उक्त दूध डेरी बनाउनका लागि सबै मेसिन भारत र चीनबाट ल्याइएको उनले बताए ।

अनुदान बिना ३ जना युवाले मिलेर ८ करोडको लगानीमा अत्याधुनिक प्रविधिमा उक्त उद्योग सञ्चालन गरिएको हो ।