उठ्न छाड्याे उपत्यकाको फोहोर, सहर दुर्गन्धित हुने चिन्ता

उठ्न छाड्याे उपत्यकाको फोहोर, सहर दुर्गन्धित हुने चिन्ता


काठमाडाैँ ।
पटक–पटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फाेहाेर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ ।
अन्तिम फाेहाेर व्यवस्थापन स्थल आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फाेहाेर व्यवस्थापन हुन नसकेको हो ।
यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही  बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फाेहाेर व्यवस्थापन हुन नसकेको हो ।
धुनीबेँसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमति भएको १ वर्ष वितिसक्दासम्म महानगरले स्थानीयबासीको मागप्रति बेवास्ता गरेकाले आजदेखि  फाेहाेर व्यवस्थापनमा रोक लगाइएको हो ।
उनले भने, ‘फाेहाेर र मानिससँगै बस्नै सक्दैन,  कि फाेहाेरलाई अन्यत्र व्यवस्थापनका लागि  प्रबन्ध गर्नुपर्‍यो कि उक्त स्थानका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्‍यो । अन्यथा फाेहाेर व्यवस्थापनमा समस्या आइरहन्छ ।’
आज बिहान फाेहाेर बोकेर ल्यान्डफिल साइटमा जाँदै गरेका गाडी स्थानीयबासीको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।
फाेहाेर बोकेका करिब ५० वटा गाडी रोकिएका थिए । । स्थानीयबासीले सहमतिका नाममा आफूहरूलाई झुक्याइएको आरोप लगाएका छन् । कामपाले  यसअघि कुहिने र नकुहिने फाेहाेर वर्गीकरण गरेर कुहिने फाेहाेर मात्र व्यवस्थापन गर्नेलगायत सहमति पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो ।
यता कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले यसअघि स्थानीयबासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फाेहाेर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताए ।
उनले भने, ‘स्थानीयबासीको मुख्य माग आसपासका ३ हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुपर्‍यो भन्ने हो । कामपाले मात्र गर्न सक्दैन, त्यसका लागि केन्द्र सरकारसँग छलफल भइरहेको छ ।’
विगतका वर्षमा पनि स्थानीयबासीकै अवरोधका कारण उपत्यकाको फाेहाेर महिनौँ सडकमै थुप्रिने गरेको थियो । कामपाले यस वर्ष वर्ष फाेहाेर व्यवस्थापनमा कुनै समस्या नहुने भने पनि साउन महिना लागेसँगै फाेहाेर रोकिन थालेको छ ।
यसअघि सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकोको फाेहाेर गत वर्षकाे भदौदेखि बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।